काठमाडौं– सुनको मूल्यमा दिनदिनै अघिल्लो कीर्तिमान तोडिन थालेको छ । गत शुक्रबार १ लाख ५६ हजार ३०० रुपैयाँ प्रतितोला कायम भएको सुन मूल्यको रेकड आइतबार नै तोडिएको छ ।
स्थानीय बजारमा आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँ तोकिएको छ । यो अघिल्लो दिनको तुलनामा ५०० रुपैयाँ बढी हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि १ हजार ९०० रुपैयाँ तोकिएको छ ।









