काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ ।
उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिएका छन् ।
यो ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्व कानुनमन्त्री धनराज गुरुङ पनि जोडिएका छन् । तर प्रदेश र संघीय सहकारी मन्त्रालयले सीआईबीलाई अनुसन्धानका लागि पठाएको कागजातमा गुरुङको नाम हटाइएको छ ।
गुरुङले सहकारी ठगी प्रकरणमा जोडिएकी श्रीमतीसँग सम्बन्ध बिच्छेद भएको भने पनि उनले सम्बन्ध बिच्छेद गरेको मितिभन्दा पछिको मितिमा ऋण लिँदा हकवालामा उनै श्रीमतीको नाम राखेका छन् भने सम्बन्ध बिच्छेद गरेको भनिएकी श्रीमतीको ऋण समेत उनले तिरिदिएको देखिएको छ । गुरुङले भने ऋण लिने कागजातमा हकवालामा पूर्वपत्नीको नाम आफूले नभई अरु कसैले राखिदिएको र छाडिसकेको श्रीमतीको ऋण कानुन जानको साथीहरुको सल्लाहअनुसार तिरिदिएको बताएका छन् ।
बोगटीले उक्त संस्थामा रकम अपचलन भएका विषयमा उजुरी परेपछि मुख्य रुपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएको जानकारी दिएका छन् ।
सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउन महिनामा उजुरी दर्ता गरेका थिए । ज्योती धनराजकी पूर्वपत्नी हुन् ।









