काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५०.७३ अंक (१.८८ प्रतिशत)ले घटेर २६३७.७९ को बिन्दुमा कायम भएको छ ।

लगातार ६ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अंकले बढेको थियो । तर बजार सम्हालिन नसक्दा आज पुनः घटेको छ ।

आज विभिन्न ३२४ कम्पनीका २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर १ लाख १९ हजार ७३९ पटक खरिदबिक्री हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम पछिल्ला सात दिनमा सबैभन्दा उच्च हो ।

आजको कारोबारपछि वित्त समूह र होटल तथा पर्यटन समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ । वित्त समूह ३.५३ र होटल तथा पर्यटन समूह ३.६८ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ ०.९३, विकास बैंक २.५१, जलविद्युत् १.४८, लगानी २.८० र जीवन बीमा समूह २.७४ प्रतिशतले घटेको छ ।

उत्पादन तथा प्रशोधन समूह १.७९, लघुवित्त १.८८, म्युचुअल फन्ड १.६१, निर्जीवन बीमा २.१६, व्यापार ०.९० र अन्य समूह २.२३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

आज २१९ कम्पनीको सेयर मूल्य घट्दा २४ वटाको बढेको छ । जसमध्ये रिभर फल्स पावर लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६४ करोड ३८ लाख ६६ हजार ७८० रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सिंगटी हाईड्रो इनर्जी लिमिटेडको ९ लाख ३४ हजार ५७८ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय