सिन्धुली– करिब तीन वर्षअघि कोरियाले नेपाललाई दिएका उन्नत जातका गाईबाट जन्मिएका बाच्छी स्थानीयलाई उपहारका रूपमा प्रदान गरिएको छ । शनिबार सिन्धुलीको कमलामाई नगरपालिकामा आफ्नो ८०औं वार्षिकोत्सव मनाउँदै हेफर इन्टरनेसनलले उपहार हस्तान्तरण कार्यक्रम (पासिङ अन द गिफ्ट) सम्पन्न गरेको हो ।
हेफरले नेपाल सरकारसँग मिलेर सिन्धुलीमा ‘मिल्की वे’ परियोजना सञ्चालन गर्दै आएको छ । दक्षिण कोरिया सरकार पनि यस परियोजनाको साझेदार हो । परियोजनाका लागि दक्षिण कोरियाले सन् २०२२ डिसेम्बर र सन् २०२३ जनवरीमा होलिस्टिन प्रजातिका एक सय गाई र आठवटा साँढे उपहारस्वरूप प्रदान गरेको थियो । जसमध्ये कमलामाई नगरपालिकामा ५१ किसान परिवारलाई गाई बाँडिएका थिए । नश्ल सुधारका लागि ल्याइएका साँढे भने राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिएका छन् ।
यसरी किसानलाई बाँढिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी अहिले अरू किसानलाई हस्तान्तरण गरिएको हो । ‘मिल्की वे’ परियोजनाले पाँच लाख नेपाली साना किसान परिवारमा पुगेर जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । ‘मिल्की वे’ परियोजनाका साझेदारहरूले कमलामाई नगरपालिकामा ‘मोडेल डेरी भिलेज’ समेत स्थापना गरेका छन् ।
कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले ‘मिल्की वे’ कार्यक्रमले किसानको जनजीविका सुधारमा लागि महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘स्थानीय सरकारसमेतको सहकार्यमा सञ्चालित यस कार्यक्रमले किसानको आर्थिकस्तर सुधारका लागि मात्र नभइ कृषिउपज उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने र त्यस्ता वस्तु निर्यात गर्ने मुलुकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने, ‘उपहार प्रदान गर्ने संस्कृतिले सामाजिक एकता तथा सहकार्यको भावनालाई मजबुत बनाउँछ र यसले व्यावासयिक कृषिमा लाग्नका लागि उत्प्ररित पनि गर्छ ।’
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा राजेन्द्र मिश्रले मुलुकको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि पेसामा आबद्ध रहेको उल्लेख गर्दैव्यावसायिक पशुपालन तथा नश्ल सुधारका कार्यक्रमबाट दुग्धजन्य तथा मासुको उत्पादनमा नेपाल आत्मनिर्भर भएको बताए । कृषि तथा पशुपक्षी क्षेत्रमा देखिएका विभिन्न रोग उन्मूलनका लागि सरकारले योजना बनाएको पनि उनले जानकारी दिए ।
यस्तै, कमलामाई नगरपालिका प्रमुख उपेन्द्र पोखरेलले कोरियाली गाई ल्याएपछि गत वर्षको तुलनामा दूध उत्पादन दोब्बरले बढेको दाबी गरे । मासिक २७ लिटरबाट बढेर ५५ हजार लिटर पुगेको उनको भनाइ छ ।
फर इन्टरनेसनलका राष्ट्रिय निर्देशक डा तीर्थराज रेग्मीले देशका ५३ भन्दा बढी जिल्लामा चार लाखभन्दा बढी परिवार, १६ हजार समूह र दुई सय ९२ वटा सहकारी हेफरसँग आबद्ध भएर कृषि तथा पशुपक्षी पालनमार्फत जीविकोपार्जन कार्यक्रमसँग जोडिएको बताए। आर्थिक रूपमा कमजोर परिवारलाई पशुपालनमार्फत जीवनस्तर सुधार, उत्पादित वस्तुको बजारीकरण, स्वरोजगार सिर्जनालगायत काममा हेफरले भूमिका खेलेको उनको भनाइ छ।
कोरियाबाट उपहार पाएका दुईवटा गाई पालिरहेकी कमलामाई नगरपालिकाको तल्लो राजपानीकी रुक्मिणी अधिकारी आफ्नो घर खर्चसँगै केही बचत पनि हुन थालेको बताउँछिन्।