काठमाडौं– आगामी शनिबारदेखि चाडपर्वलाई लक्ष्य गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यस वर्षको दसैं, तिहार र छठ पर्वमा काठमाडौं उपत्यका बाहिर जाने र आउने यात्रा सहज र सुरक्षित बनाउने सम्बन्धमा आयोजित बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी र अन्य सरोकारवाला सहभागी थिए ।

बैठकमा चाडपर्वलाई लक्ष्य गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका यातायातका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको विभागले जनाएको छ ।

अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइनबाट समेत टिकट लिने गरी व्यवस्था मिलाइने निर्णय गरेको विभागका निर्देशक तथा प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । उनका अनुसार अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्य प्रालि, उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने, गराउने र यात्रुलाई मादक पदार्थ सेवन गरी यात्रा नगर्न आग्रह गर्ने निर्णय भएको छ ।

‘सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिएर मात्र यात्रा गर्न र सम्बन्धित काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्र्ने, सवारी चालकले यात्रुलाई खाना, खाजा खुवाउने स्थानमा भीडभाड नहुने गरी व्यवस्था गर्ने, गराउने निर्णय गरिएको छ,’ प्रवक्ता पनेरुले भने, ‘अनधिकृत काउन्टर, परिचयपत्र, पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः नियन्त्रण गर्ने, गराउने, मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गरी पठाउने निर्णय पनि भएको छ ।’

यसैगरी यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारीसाधन असोज १७ गते घटस्थापनादेखि कात्तिक १ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको छ । ‘तथापि प्रचलित कानुनबमोजिम आयात गर्ने मालबाहक सवारीको हकमा भन्सार प्रज्ञापनपत्र र निर्या गर्ने मालबाहक सवारीको हकमा नियमअनुसारको राजस्व तिरेको रसिद हेरी तेस्रो मुलुकका आयात–निर्यातजन्य ढुवानीका साधन भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणगढदेखि काठमाडौंसम्मको सडक खण्डमा आवतजावतमा रोक नलगाउने निर्णय भएको छ,’ प्रवक्ता पनेरुले भने, ‘यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने छ तर कुनै बाटोको विशेष प्रकृतिका कारण त्यहाँ सञ्चालन निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीहरूलाई भने बन्देज कायमै रहने छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय