काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विराटनगर, पोखरा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ । निगमले नजिकिएको दसैं, तिहार तथा छठ जस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको थियो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार चाडपर्वपछि पनि विराटनगर, पोखरा र नेपालगन्ज कार्यालयबाट टिकट वितरण गर्ने गरी व्यवस्था मिलाउनेछ । उक्त व्यवस्थापनका लागि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्बन्धित विभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।

‘आगामी दसैं, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा र सो पश्चात् समेत निरन्तर रहने गरी नेपाल वायुसेवा निगमका उडानहरुबाट यात्रा गर्न सहज रुपमा टिकट प्राप्त होस् भनी निगमका विराटनगर, पोखरा र नेपालगन्जस्थित कार्यालयहरुबाट बिक्री गर्ने व्यवस्था मिलाउन र यसलाई प्रभावकारी रुपमा लागू गर्न निर्देशन दिइएको छ,’ निगमको विज्ञप्तिमा भनिएको छ ।

साथै, यात्रुले आफ्नो मोबाइलबाट वा निगमको वेब–साइटबाट अनलाइन टिकटलिन सकिने व्यवस्था रहेकामा स्थानीय ठाउँबाट समेत सेवा दिँदा सेवाग्राहीले अझ प्रभावकारी ढंगले टिकेटिङको सेवा लिने निगमको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय