काठमाडौं– जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म देशका ५६ जिल्लामा भारी वर्षा हुने जानकारी दिँदै सतर्क रहन सर्वसाधारणलाई सुझाएको छ ।
बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपालतिर आइरहेको भन्दै विभागले भारी वर्षाको अनुमान गरेको हो । यो क्रम असार १३ गते आइतबारसम्मै जारी रहने विभागको विज्ञप्तिमा उल्लेख छ ।
‘बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण २०८१ असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ (आइतबार) सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ,’ महाशाखाले बुधबार जारी गरेको बुलेटिनमा भनिएको छ ।
महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले बिहीबार दिउँसोदेखि देशभर सामान्यदेखि पूर्णतया बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना देखाएको छ । कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ । त्यस्तै तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको बताएको छ ।
असोज ११ गते (शुक्रबार) देखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा कर्णालीका केही स्थानहरूमा तथा मधेशका थोरै भूभागमा मेघ गर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा जनाएको छ ।
यसका साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको बताएको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित अति भारी वर्षाको समेत सम्भावना रहेको बताएको छ ।
असोज १२ गते (शनिबार) देशभर सामान्यदेखि पूर्णतया बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना औंल्याइएको छ । साथै देशका लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
असोज १३ गते (आइतबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । आइतबार देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।
यस प्रणालीको प्रभावले विशेष गरी वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको बताएको छ ।
ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन विभागले सुझाएको छ ।
कुनकुन जिल्ला जोखिममा ?
असोज १० देखि १३ गतेसम्म कोशीका ११, मधेशका सिराहा, सप्तरी, पर्सा, बागमतीका काठमाडौंसहित दोलखा बाहेकका १२, गण्डकीका १० जिल्ला उच्च जोखिममा छन् । गण्डकीको मनाङ मध्यम जोखिममा छ ।
त्यस्तै लुम्बिनीका १२, कर्णालीका ५, सुदूरपश्चिमका ३ जिल्ला उच्च जोखिममा छन् । १९ जिल्ला मध्यम जोखिम र मुगु र हुम्ला निम्न जोखिममा रहेको महाशाखाले बताएको छ ।









