काठमाडौं– गत साउन मसान्तमा मुलुकमा विदेशी मुद्रा सञ्चिति २०९२ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ । एक महिनाअघि असार मसान्तमा कुल विदेशी मुद्रा २०४१ अर्ब १० करोड बराबर थियो । असारको तुलनामा साउनको सञ्चिति २.५ प्रतिशतले बढी हो ।
साउनमा अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १५ अर्ब ५८ करोड पुगेको छ । असारमा यो १५ अर्ब २७ करोड थियो । एक महिनाको अवधिमा डलरमा विदेशी मुद्रा सञ्चिति २.० प्रतिशतले बढेको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रुपैयाँ बराबर रहेकोमा २०८१ साउन मसान्तमा १.९ प्रतिशतले वृद्धि भई १८८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड बराबर विदेशी मुद्रा सञ्चिति रहेकोमा २०८१ साउन मसान्तमा ८.४ प्रतिशतले वद्धि भई २०८ अर्ब ७९ करोड कायम भएको छ । २०८१ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१–८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाइ छ । २०८१ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३६.७ प्रतिशत, ११२.५ प्रतिशत र ३०.३ प्रतिशत रहेका छन । २०८१ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।









