काठमाडौं– निरन्तरको भारी वर्षाका कारण आन्तरिक हवाई उडान ठप्प भएको छ । मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन । अन्तर्राष्ट्रिय उडान भने मुस्किलका साथ जारी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आन्तरिक उडान अहिलेसम्म खुलेको छैन भने अन्तर्राष्ट्रियतर्फको उडान भने सञ्चालन भइरहेको छ ।
आज विहान जजिरा एयरको विमान काठमाडौं विमानस्थलमा अवतरण गर्यो भने फ्लाई दुबईको विमान डाइभर्ट भएको छ । एयर अरेबियाको विमान भर्खरै अवतरण भएको छ ।
वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा शुक्रबार पनि आन्तरिकतर्फ धेरैजसो उडान रद्द भएको थियो । हिजो अन्तर्राष्ट्रियतर्फ दुई विमान ‘होल्ड’ हुनुका साथै धेरै उडान डिले भएका थिए ।
‘इन रुट वेदर’ बिग्रिएकाले अन्तर्राष्ट्रिय उडानका विमानलाई पनि अवतरणमा कठिनाइ भएको थियो । शुक्रबार थाई एयरवेजको विमान करिब दुई घण्टा सिमरामाथिको आकाशमा होल्ड भएको थियो भने इन्डिगो एयर पनि एक घण्टा होल्ड भएर अवतरण भएको थियो ।
विमानस्थलका अनुसार शुक्रबार आन्तरिकतर्फ दुईतर्फी ३१६ उडान तालिका रहेकामा २३८ हाराहारी उडान रद्द भएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण शुक्रबार साँझ ७ बजेदेखि शनिबार विहानसम्म आन्तरिकतर्फ सबै उडान स्थगित गरेको थियो ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले आन्तरिक उडान अहिलेसम्म कतैपनि नभएको बताए। ‘काठमाडौं विमानस्थल खुले पनि आन्तरिकतर्फ अहिलेसम्म कतै पनि उडान भएको छैन, मौसम र गन्तव्य हेरेर उडानको थप निर्णय हुन्छ,’ उनले भने ।









