काठमाडौं– मुलुकभर तीन दिनदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रुपमा बागमती प्रदेश बढी प्रभावित भएको छ ।
बागमतीको खासगरी काभ्रेपलाञ्चोक, काठमाडौं र ललितपुरमा क्षतिका घटना भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बिपी राजमार्ग, पृथ्वी राजमार्गलगायतका यस क्षेत्रका साना र ठूलागरी धेरै सडक अवरुद्ध छन् ।
अन्य प्रदेशमा पनि राजमार्ग अवरुद्ध तथा खोला र नदी किनारका खेतीयोग्य जमिन कटानका थुप्रै घटना भएका छन् । अहिले अन्य भागको तुलनामा सुदूरपश्चिम र कर्णालीमा भने सामान्य पानी परेको छ ।
कोसी प्रदेशका धनकुटालगायत क्षेत्रमा केही क्षतिको विवरण प्राप्त भएको मन्त्रालयको भनाइ छ । पश्चिमतर्फ कालीगण्डकी करिडोर पनि अवरुद्ध छ । अवरुद्ध सडक खुलाउन स्थानीयको सहयोगमा सुरक्षाफौज र सडक विभागले काम पनि गरिरहेको छ । मानवीय र भौतिक क्षतिलाई न्यून गर्न मन्त्रालयको प्रयास केन्द्रित रहेको उनले जानकारी दिए ।
मन्त्रालयले सबै नागरिकलाई वर्षाको समयमा अत्यावश्यक अवस्थाबाहेक घर बाहिर र नदी किनारमा नजान अनुरोध गरेको छ । मुलुकका अहिले विभिन्न नदीले जलसतहका हिसाबले २२ वटा नदीले खतराको सीमा पार गरेको छ र १४ वटा चेतावनीको अवस्थामा रहेका छन् ।
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ६ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपद्मा परी सात जना घाइते र सात जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ ।
बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ । पछिल्लो विपद्बाट करिब ४०० नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए । उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ ।
प्रहरी प्रवक्ता कार्कीका अनुसार १५० भन्दा बढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना भएका छन् । २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए ।









