काठमाडौं– जेम्स र ज्वेलरी निकासीमा पनि नगद प्रोत्साहनको व्यवस्था गर्न व्यवसायी माग गरेका छन् । ललितपुरमा शुक्रबार सुरु भएको जेम्स एन्ड ज्वेलरी एक्स्पो उद्घाटन सत्रमा ललितपुर रत्न तथा आभूषण संघका अध्यक्ष कृष्णलाल महर्जनले जेम्स र ज्वेलरीलाई निकासीको ठूलो सम्भावना भएको वस्तुको रुपमा चित्रण गर्दै अन्य वस्तुमा जस्तै यसमा पनि नगद अनुदान भए निर्यात बढाउन सकिने बताए ।

‘जेम्स र ज्वेलरी निकासीको ठूलो सम्भावना भएको क्षेत्र हो । तर कमजोर प्रतिस्पर्धी क्षमता, नीतिगत कमजोरी र चर्को ढुवानी लागतले त्यो सम्भावनालाई खुम्च्याइदिएको छ,’ अध्यक्ष महर्जनले भने, ‘सधैं निकासी प्रवद्र्धनको कुरा गर्ने सरकारको प्राथमिकतामा यो क्षेत्र पर्न नसकेको अनुभूति हामीले लामो समयदेखि गर्दै आएका छौं । सरकारको प्राथमिकतामा परेको भए त निर्यातमा नगद प्रोत्साहन पाउने वस्तुको सूचीमा जेम्स र ज्वेलरी पनि पर्दो हो नि ! तर परेको छैन ।’

यस क्षेत्रका व्यवसायीले राज्यबाटै विभेदपूर्ण व्यवहार भएको खल्लो अनुभूति बोकेर काम गरिरहेका पनि उनले बताए । यो स्थिति चाँडै अन्त्य गरी जेम्स र ज्वेलरीलाई पनि नगद प्रोत्साहन उपलब्ध गराउन उनले कार्यक्रममा मुख्य अतिथिको रुपमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई आग्रह गरे ।

सुन आयातमा लाग्ने भन्सार घटाउन पनि उनले आग्रह गरे । भारतले चालू आर्थिक वर्षको बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार घटाएपछि नेपालको तुलनामा भारतमा सुन सस्तो भएको र सीमावर्ती क्षेत्रका नागरिक गरगहना बनाउन पारि जान थालेका भन्दै उनले मूल्य अन्तर फराकिलो हुँदा भारतबाट अनधिकृत रुपमा सुन आयात हुने जोखिम औंल्याए ।

नेपालमा पनि भारतीय बजारसरह मूल्य कायम हुने वातावरण नबनाए सुनको अनधिकृत आयात रोक्न सकिँदैन भन्दै अध्यक्ष महर्जनले यसको लागि सुनमा लाग्ने भन्सार महशुल पुनरवलोकन गर्नुपर्ने सुझाए । ‘सुनको भन्सार दर तत्काल संशोधन नगरे लाखौं रोजगारी र अर्बौं राजस्वको स्रोत सुनचाँदी र गरगहना व्यवसाय धराशयी हुनेतर्फ म माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भने ।

चर्को ढुवानी लागतलाई जेम्स र ज्वेलरी निर्यातमा अर्को प्रमुख अवरोध बताएका उनले सरकारले अन्तर्राष्ट्रिय कार्गो जहाजहरुलाई सहुलियतको व्यवस्था गरे कार्गो भाडा कम भई निर्यात वृद्धिमा योगदान हुन सक्ने बताए । पोखरा र भैरहवामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा ती विमानस्थलमा अन्तर्राष्ट्रिय कार्गो जहाजहरुलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

नेपालमा पाइने बहुमूल्य रत्न र पत्थरहरु किलोको हिसाबले निर्यात भइरहेको भन्दै उनले थपे, ‘आयात गर्दा क्यारेटको हिसाबले आउँछ । हामी किन यस्तो बिडम्बनापूर्ण अवस्थामा रहन बाध्य छौं ?’

निजीक्षेत्रसँग मिलेर सरकारले स्वदेशी रत्न, पत्थरको उत्खनन, प्रशोधन र प्रयोग बढाउनुपर्ने उनको सुझाव छ । त्यसका लागि जेम एन्ड ज्वेलरी प्रवर्द्धन परिषद् गठन गरी सार्वजनिक–निजी साभेदारीमा स्वदेशी रत्न, पत्थरको उत्खनन्, प्रशोधन र प्रयोग बढाउनुपर्ने उनले बताए ।

१२/१३ वर्षअघि विदेशी मुद्राको सञ्चिति घटेका कारण सुन आयातमा लागू गरिएको कोटा प्रणाली खारेज गरी ओपन लाइसेन्स जनरल प्रणालीमा जानुपर्ने उनले बताए । अहिले विदेशी मुद्रा सञ्चिति कीर्तिमानी बिन्दुमा पुगेका बेला सुन आयातमा कोटा प्रणाली जारी राख्नु औचित्यपूर्ण नहुने महर्जनको भनाइ छ ।
उनले सुनचाँदी र गरगहना व्यवसायीको सुरक्षाको उचित प्रबन्ध गर्न पनि माग गरे ।

संघले रोटरी क्लब अफ ललितपुर हेरिटेजसँग मिलेर समृद्धिका लागि सम्पदा नाराका साथ एक्स्पो आयोजना गरेको हो । यसले कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीबाट प्रभावित व्यवसायलाई पुनर्जीवन दिन सहयोग गर्ने अपेक्षा संघको छ । यसले स्थानीय आर्थिक गतिविधि बढाउनमा पनि योगदान गर्ने ठानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय