काठमाडौं– भारी वर्षापछिको बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको छ । दुई दिनदेखि देशभर परेको वर्षाले ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, २२ मेगावाटको माण्डु जलविद्युत् आयोजना, २२.१ मेगावाटको हेवाखोला जलविद्युत् आयोजनामा हेडवर्क्स र पावरहाउसमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

यस्तै, रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली २ जलविद्युत् आयोजनाको भौतिक संरचना र उपकरणमा क्षति पुगेको छ । प्रवक्ता घोषकानुसार अपर तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत पाँचजना सम्पर्कविहीन छन् ।

खिम्ती लामोसाँघु प्रसारण लाइनमा क्षति पुगेको छ । उक्त प्रसारण लाइनको ७ नम्बर टावर बाढीले बगाउँदा काठमाडौं आउने विद्युत् लाइन अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । दमकदेखि गोदकसम्मको प्रसारण लाइनमा समेत क्षति पुगेको छ । उक्त प्रसारण लाइनअन्तर्गतको ५१ नम्बर टावर बाढीले बगाएको हो ।

बाढीले सोलु करिडोर, कोशी कोरिडोरको प्रसारण लाइनमा समेत क्षति पुगेको प्रवक्ता घोषले जानकारी दिए । नेपालमा उत्पादित विद्युत् गृहहरूमा बाढीपहिरोले क्षति पुगेपछि भारतबाट थप ३०० मेगावाट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ ।

अधिकांश विद्युत् कम्पनीहरूले बाढी बढ्न थालेपछि विद्युत् गृहमा कार्यरत कर्मचारीलाई सुरक्षित स्थानमा सारेका छन् ।

नेपालमा तीन हजार मेगावाट हाराहारीमा विद्युत् उत्पादन हुँदै आएकामा दुई दिनको बाढीपहिरोले क्षति पुगेपछि अहिले १ हजार ३०० मेगावाट मात्र उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय