काठमाडौं– नेपाल राष्ट्र बैंकले दसैंलाई लक्ष्य गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ ।
राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ ।
‘नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढीस्थित कार्यालयबाट सुकिलो नोट साट्न सकिनेछ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत नोट सटही गर्ने व्यवस्था मिलाइएको छ,’ पोख्रेलले भने ।
राष्ट्र बैंकका अनुसार सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुन कुनै बैंक तथा वित्तीय संस्थामा गएर सुकिलो नोट साट्न सक्नेछन् । एकजना व्यक्तिले ५, १०, २०, ५० र १०० दरका नोटसहितको १८ हजार पाँच सयसम्म साट्न पाउनेछन् ।
राष्ट्र बैंकले विगतका वर्षका एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकोमा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो र सफा नोट साट्न सकिने जनाएको छ । दसैं अगाडि सटही गरिएका नोट चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र त्यसपछि ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाली नोटकोे कागज ‘कटन बेस्ड’ हुने र लामो समय प्रयोगबिहीन भइ ढुकुटीमै भण्डारण हुँदा ती नोटमा चिसो, ओस तथा अपर्याप्त हावा र प्रकाशका कारण ढुसी आउने गर्दछ । यस्तो हुँदा नोटको आयु समेत घट्दै जाँदा पुनःप्रयोग गर्न योग्य नहुने अवस्था समेत आउन सक्ने बैंकको भनाइ छ ।
साथै, बजारमा कारोबारका लागि नगद नोट जति धेरैको हात हातमा पुगेर बैंकमा फिर्ता आयो त्यति नै नोटको प्रभावकारी उपयोग भएको मानिन्छ । यसकारण नोटको छपाइ, भण्डारण, ओसारपसार र धुल्याउने जस्ता बैंक नोट व्यवस्थापनका आधारभूत कार्यलाई मितव्ययी एवंं प्रभावकारी बनाउन समेत सुकिलो नोटको उपयोग बढाउनु आवश्यक भएको राष्ट्र बैंकको भनाइ छ ।









