काठमाडौं– मुलुकको अग्रणी एवं सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढीपहिरो पीडितलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत उक्त सहयोग रकम बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको बताए । उनले हालैको अविरल वर्षामा हजारौं नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको जानकारी दिए ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने बताए । बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर २०० हाराहारीको निधन भएको छ भने ३५ भन्दा बढी हराइरहेका छन् ।

मुलुकलाई अप्ठेरो परेका बेला सहयोग गर्नु नागरिकको दायित्व भएको गुरुङको भनाइ छ । उनले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माण गर्न ४१ करोड रुपैयाँ बराबर सहयोग गरेका थिए । उक्त अस्पताल अहिले निर्माणाधीन छ ।

अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरूको उद्धार र राहतका लागि गुरुङले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुका साथै ८० लाख रुपैयाँबराबरको खाद्यान्न उक्त क्षेत्र पठाएका थिए ।

कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए । त्यसअघि २०६८ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए । ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका थिए ।

गुरुङले हालसम्म १४ जनालाई एमबीबीएस अध्ययन गर्न खर्च बेहोरेका छन् । रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जना डाक्टर बने र धेरैले स्थानीय तहमै जनताको सेवा गरेर बसेका छन् ।

उनीहरूको पढाइको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोरेको थियो र उनीहरूले त्यसबापत स्थानीय तहमा जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय