काठमाडौं– संघीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण काठमाडौं आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो ।

मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे ५०० उडान भएका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । उनका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान र २२१ अवतरण भएका छन् ।

अन्तर्राष्ट्रिय उडानतर्फ पनि ५६ अवतरण र ५५ उडान भएका छन् । प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान भएको बताए । एकै दिन धेरै उडान भएकाले उडान चाप बढेको छ । यसअघि अघिल्लो वर्ष दसैंका बेला यस्तो उडान चाप थियो । विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक ५०० हाराहारी उडान भएका थिए । अन्तर्राष्ट्रियमा दैनिक ११३ देखि १५ उडान भएको थियो भने आन्तरिकतर्फ पनि दैनिक २७० उडानमार्फत १४ हजार यात्रीले आवतजावत गरेका थिए ।

विमानस्थलका प्रवक्ता शेर्पाले मंगलबारका लागि आन्तरिकतर्फ १६९ अराइभल र १६९ डिपार्चर उडान तालिका तय गरिएको बताए । अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल हुने उनले बताए। हेलिकप्टरको उद्धार उडान पनि उल्लेख्य हुनेछन् ।

वर्षाका कारण अवरुद्ध मुख्य सडकमार्ग आंशिक रूपमा खुलेपनि यात्रुलाई यात्रा निकै कष्टकर छ । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प हवाई उडान हो । एक्कासि हवाई उडानमा पनि चाप बढेपछि यात्रुलाई गन्तव्यमा पुग्न समस्या भइरहेको छ । दिनहुँ विमानस्थलमा यात्रुको भीड लाग्ने गरेको छ । आइतबार र सोमबार अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा उल्लेख्य सङ्ख्याका यात्री विमान उडानको पर्खाइमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय