काठमाडौं– प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिन्छ भन्ने उदाहरण बनेको छ, असोज ११ र १२ गतेको भारी वर्षापछि आएको बाढीपहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । वर्षभरि खाने तरकारी नष्ट भयो ।

सहजै यात्रा गर्ने राजमार्गहरु तसहनहस भए । बस्ती बगे । कयौं पशुचौपाया मरे । बाढीकै कारण अर्बौं लगानी क्षणभरमा नष्ट भयो । नेपाली समाजमा एउटा भनाइ लोकप्रिय छ, ‘विपत्ति बाजा बजाएर आउँदैन ।’ तर यसपटकको विपत्ति बाजा बजाएर आएभन्दा चर्को भयो । चाडबाडको मुखमै ध्वस्त भएको बिपी राजमार्ग पूर्ववत् अवस्थामा कहिले सञ्चालनमा आउने हो कुनै ठेगान छैन । पृथ्वी र त्रिभुवन राजमार्गको अवस्था उस्तै छ ।

राजधानीको खाद्यान्न गोदाम भनेर चिनिएको कालीमाटी र बल्खु बजार अझै नियमित सञ्चालनमा आउन सकेको छैन । राजमार्गमा नियमित सवारी नचल्दा भोक भोकै यात्रु पैदलयात्रा गर्न बाध्य छन् । जल तथा मौसम विज्ञान विभागले जानकारी दिँदा पनि कैयौं नागरिकले अकालमा ज्यान गुमाएका छन् ।

बाठमाडौंको बल्खु, नख्खु, बाग्मतीका किनार तथा भक्तपुरको हनुमन्तेलगायतका खोला र नदी किनार पूर्ववत् अवस्थामा फर्कन अझै धेरै दिन लाग्ने स्पष्ट छ । बाढी र पहिरोका कारण प्रारम्भिक विवरण अनुसार १७ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण संकलनका क्रममा रहेकाले यो अझै बढ्ने पक्का छ ।

सरकारका मुख्यसचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ ।

कुलेखानी जलाशयको पानी खोल्दा गएको बाढी र पहिरोका कारण मकवानपुरको इन्द्रसरोवर–३ मा रहेको वत्सलादेवी माविमा सञ्चालित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीमा अध्ययनरत ६ जना विद्यार्थीको कलिलै उमेरमा ज्यान गुमाउन बाध्य भए । पहिराले पुरिँदा मकवानपुरका तीन र अन्य जिल्लाका तीन गरी बालकले ज्यान गुमाए । बाढीका कारण सबैभन्दा बढी समस्यामा बिपी राजमार्ग परेको छ । रोशी खोला किनारका बस्ती क्षतविक्षत भएको छ । हालसम्मको विवरणअनुसार बाढीपहिरोबाट सडक र पुलमा मात्रै २ अर्ब ५२ करोड बराबरको क्षति भएको छ । बाढीले पाँचवटा पक्की पुल र दुईवटा बेलिब्रिजमा क्षति पुगेको छ ।

पछिल्लो पटकको बाढीपहिरोमा परी हालसम्म २२४ जनाको निधन भएको छ भने २४ जना बेपत्ता छन् । १५८ जना घाइते छन् । उच्च जोखिममा रहेका ४ हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको मुख्यसचिव अर्यालको भनाइ छ । कृषि क्षेत्रमा करिब ६ अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्यांक छ । ५८ हजार ४७६ हेक्टरमा लगाइएको ३ अर्ब ५० करोड बराबर धानबालीमा क्षति पुगेको छ । किसानका २६ हजार २०५ वटा पशुपन्छी मरे ।

भौतिक क्षतितर्फ खानेपानी संरचनामा ३ अर्ब ५५ करोड, सडक पूर्वाधारमा २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब र जलस्रोत तथा सिँचाइतर्फ १ अर्ब ३५ करोड बराबरको क्षति भएको छ । बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकाका थिए । ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अविरल वर्षापछि आएको बाढीपहिरोका कारण सडक विभागअन्तर्गतका झन्डै २२ किलोमिटर सडक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । त्यसमा सडकतर्फ १ अर्ब ५० करोड ५० लाख, पुलतर्फ ८२ करोड र बेलीब्रिजतर्फ २० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण छ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार १४ वटा सडकको ४२ स्थानमा बाढीपहिरोका कारण क्षति पुगेको छ ।

बाढीपहिरोका कारण अरनिको राजमार्ग, बिपी राजमार्ग कान्ति राजमार्ग, मदन भण्डारी, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग मदन भण्डारी राजमार्ग र कालिगण्डकी कोरिडोरमा क्षति पुगेको छ । सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सिङटारको पुल पूर्णरूपमा क्षतिग्रस्त छ । अरनिको राजमार्गअन्तर्गत लिपिङ पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाउँदा यातायात सञ्चालनमा असुविधा उत्पन्न भएको छ । लार्चा र हेवा खोलामा रहेको बेलिब्रिज बाढीले बगाएको छ ।

ऊर्जा र जलस्रोततर्फ समग्रमा ४ अर्ब ३५ करोड बराबरको क्षति भएको छ । नदी नियन्त्रणका लागि बनाइएका तटबन्धमा करिब १ अर्ब १६ करोड २० लाख बराबरको क्षति पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा निर्माणाधीन ‘कफर ड्याम’ पानीमुनि परेको छ । त्यसमा के कति क्षति भयो भन्ने कुराको मूल्यांकन भइरहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालले जानकारी दिएका छन् ।

यस्तै, खानेपानी आयोजनामा ३ अर्ब ५५ करोड ७० लाख बराबरको क्षति पुगेको छ । नेपाल खानेपानी निगम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र खानेपानी मन्त्रालयअन्तर्गत साना–ठूला आयोजनामा बाढीले समस्या पैदा गरेको छ । काभ्रेपलाञ्चोक, भक्तपुर र रामेछापका खानेपानी आयोजनामा क्षति पुगेको छ । ६६ जिल्लाका खानेपानी आयोजनामा क्षति भएको छ । अविरल बर्षापछिको बाढीपहिरोले खानेपानीको पाइपलाइन, बोरिङ प्रशोधन केन्द्र, ट्यांकीलगायतका संरचनामा क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय