गलेश्वर (म्याग्दी)– पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । सिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डकी । बीचमा बेनी नगरपालिका –२ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगैंचाले मनोहर छ ।

करिब १५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केराखेती बनेको छ । यहाँ बसोबास गर्ने प्रत्येक परिवारले पाखोबारी,खरबारी र अन्न उत्पादन हुने जग्गामा व्यावसायिक रुपमा केराखेती गरेका स्थानीय कृषक नारायण सापकोटा बताउनुहुन्छ । गाउँभर केराखेती गरिएको छ । केरा बिक्री गरेर वार्षिक रु दुई करोड बढी रकम भित्रिने गरेको उनी बताउँछन् ।

२०५७ सालमा खबरामा पहिलोपटक केराखेतीको थालिएको स्थानीय जगत् घिमिरे बताउँछन् । पोखराबाट हजारी जातको केराका तीनवटा बिरुवा ल्याएर खबरामा लगाएसँगै व्यावसायिक रूपमा केराखेती प्रारम्भ भएको हो । ‘खबरामा केरा खेतीको सुरुवात भएको २७ वर्ष भयो ।

तीनवटा केराका बिरुवा लगाएर सुरु भएको केराखेती अहिले ५०० रोपनीभन्दा बढी जग्गामा फैलिएको छ । गाउँको नाम नै परिवर्तन भएर ‘खबरा’ बाट ‘केरा गाउँ’ भनेर चिनिन थालेको छ ।’

खबराका तेजेन्द्रबहादुर कार्कीले २३ रोपनी बाँझो जमिनमा केराखेती गरेका छन् । वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने अभियानमा लागेका कृषक कार्कीले भिरालो र खोल्साखोल्सीको झाडी फँडानी गरी धमाधम केरा लगाउनु हुन्छ । कृषक कार्कीले केरा बिक्री गरेर वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको राससलाई बताए ।

‘भिरालो जमिनमा मल, जल नअडिने, बाली लगाउन समस्या भएर बारीहरू बाँझै छाड्ने गरेका थियौं तर, केही वर्षयता सोही जमिनलाई उपयोग गरेर केराखेती सुरु गरेपछि अहिले गाउँ नै केराखेतीले भरिएको छ । केराको हरियालीले गाउँ आकर्षक देखिएको छ भने स्थानीयको आम्दानीको मुख्य स्रोत पनि केराखेती नै बनेको छ,’ कृषक कार्कीले भने ।

स्थानीय यामबहादुर घिमिरे, जगत् घिमिरे, प्रेम कुँवर, चन्द्रबहादुर कार्की, शोभित शर्मा, तेजेन्द्र कार्कीलगायत २० जना कृषकले व्यावसायिक रूपमा केराखेती गर्नुभएको छ । केरा खेती फस्टाउँदै मुख्य आम्दानीको स्रोत बन्न थालेपछि स्थानीय अन्य अन्नबालीलाई विस्तार घटाउँदै केराखेतीमै केन्द्रित हुन थालेको कृषक कार्कीको भनाइ छ । ‘बाँझो जमिनमा केरा नलगाएको घर नै छैन,’ अर्का कृषक जगत्बहादुर घिमिरेले बताए ।

खबराका किसानले केरा बिक्री गरेर वार्षिक रूपमा न्यूनतम ३० हजारदेखि रु १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए। अनुकूल हावापानी, उपयुक्त वातावरण, बजारको सुविधा र पर्याप्त आम्दानी हुने भएकाले व्यावसायिक केराखेतीतर्फ यहाँका किसानको आकर्षण बढेको उनले बताए । खबरामा बाइस नङ्ग्रे, मालढुंगे, ध्रुसे, चिनीलगायत प्रजातिका केराखेती हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय