काठमाडौं– बडादसैंको पाँच दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २ लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्यांकअनुसार दसैंको फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ १ लाख ६० हजार ९१० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार ५१२ जनाले हवाई यात्रा गरेका हुन् ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दसैंको सात दिन अर्थात् असोज २४ गते फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिन (असोज ३० गते)सम्म आन्तरिकतर्फ २ हजार १५९ र अन्तर्राष्ट्रियतर्फ ७८१ गरी कुल २ हजार ९४० उडान भएका छन् । यो दुईतर्फी उडानको सङ्ख्या हो ।
दसैंको दुई दिन असोज २४ गते फूलपाती र असोज २६ गते महाअष्टमी/महानवमी मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार २४२ जनाले हवाई यात्रा गरेका थिए । असोज १३ गतेदेखि असोज २८ गतेसम्म ४ लाख २७ हजार ९४६ जनाले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ । यसमा आन्तरिकतर्फ २ लाख २३ हजार ८४७ र अन्तर्राष्ट्रियतर्फ २ लाख ४० हजार ९९ यात्रुले आवतजावत गरेका छन् ।
यसैगरी असोज १३ गतेदेखि असोज २८ गतेसम्म आन्तरिकतर्फ ५ हजार १०८ र अन्तर्राष्ट्रियतर्फ १ हजार ७४४ गरी कुल ६ हजार ८५२ उडान सञ्चालन भएको विमानस्थलको तथ्यांकमा उल्लेख छ ।
यसअघि यही असोज १४ गते एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार ७०४ जनाले हवाई यात्रा गरेका थिए । यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको चाप बढेको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवनमा यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ । यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ३ नेपालीसहित ३० विमान कम्पनीले उडान गर्दै आएका छन् भने आन्तरिकतर्फ ७ विमान कम्पनीले सेवा दिइरहेका छन् । दसैंको समयमा आन्तरिकमा सुगम विमानस्थलमा ठूला एयरलाइन्सका विमानले उडान भरे । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स तथा श्री एयरलाइन्सले बढी उडान भरेका थिए । यी कम्पनीसँग ठूला र मझौला विमान छन् । बुद्ध र यतीसँग एटीआर ७० विमान र श्री एयरलाइन्ससँग ८० सिट क्षमताका ‘ड्यास एट’ विमान छन् । समिट एयर, तारा एयर र सीता एयरले लुक्लालगायत दुर्गम गन्तव्यमा उडान भर्ने गरेका छन । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा मात्र दुई विमानले दुर्गम क्षेत्रमा उडान भर्दै आएको छ ।