काठमाडौं– पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्यले सोमबार पनि अघिल्लो कीर्तिमान तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुन प्रतितोलाको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ तोकेको छ । यो आइतबारको तुलनामा ६०० रुपैयाँ बढी हो ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यमा पनि कीर्तिमान बनेको छ । महासंघले सोमबारका लागि चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयाँ तोकेको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा पनि सुन महँगिएको हो । मध्यपूर्वमा चर्किएको युद्ध, झन्डै तीन वर्षदेखि चलिरहेको रुस–युक्रेन युद्ध र अमेरिकी चुनावपछि के हुने भन्ने अनिश्चितताले सुनको मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले विज्ञहरुलाई उद्धृत गर्दै बताएका छन् ।