वीरगन्ज– निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगन्ज भन्सार नाकाबाट हुने पेट्रोलियम पदार्थको आयातमा व्यापक कमी आएको छ । यो नाकाबाट हुने डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा चिनिन्छ । यहाँबाट चालु आर्थिक वर्षको तीन महिनामा १२ अर्ब ६६ लाख ८० हजार बराबरको १ लाख ३५ हजार ५१८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ ।

भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार गत वर्ष तीन महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा हाइस्पिड डिजेलको आयात २५.३३ प्रतिशतले घटेको छ । डिजेल आयात घटेसँगै राजस्व संकलन पनि २७.४३ प्रतिशतले घटेको छ ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइप लाइनबाट आयात हुने गरेको छ भने पेट्रोल ट्याङकरबाट नै ल्याउने गरिन्छ । अमलेखगञ्जस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो । पूर्वाधार तथा विकास निर्माणका गतिविधि बढ्ने बित्तिकै आयात बढ्ने उनको बुझाइ छ । विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको बढ्दो आकर्षणले पनि पेट्रोलियम पदार्थको खपत घटाएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले वर्षायाम र सरकारी निकायले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नदिँदा निर्माण क्षेत्रले अपेक्षाकृत गति लिन नसकेको गुनासो गरे। हाल निर्माणजन्य सामग्री र उपकरणको आयात घटेको छ । मनसुन र चाडपर्व सकिएपछि विकास निर्माणका गतिविधि चलायमान हुने उनको विश्वास छ ।

चालु आर्थिक वर्षको तीन महिनामा पेट्रोल आयात पनि घटेको छ । गएको साउनदेखि असोज मसान्तसम्ममा ६ अर्ब ५८ करोड ४६ लाख ८३ हजार रुपैयाँ बराबरको ७४ हजार सात सय १२ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा पेट्रोलको आयात २२.५२ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय