वीरगन्ज– नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइनबाट अबको डेढ महिनामा पेट्रोल पनि आयात हुने भएको छ ।

मोतीहारी–अमलेखगन्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते ५ हजार ५०० किलोलिटर पेट्रोल पाइप लाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ । अमलेखगन्जस्थित निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको पूर्वाधार निर्माण पूरा भएसँगै परीक्षणको काम पारम्भ भएको जानकारी दिए ।

‘दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबै काम पूरा भएको छ,’ उनले भने, ‘गत असोज १७ गते पाइप लाइनबाट परीक्षणका लागि ५ हजार ५०० किलोमिटर पेट्रोल ल्याएर जडान भएका उपकरणको प्रभावकारिताको परीक्षण गरिरहेका छौं । सम्भवतः डेढ महिनाभित्रमा परीक्षण पूरा गरेर डिजेलजस्तै पेट्रोल पनि व्यावसायिक रुपमा पाइप लाइनबाटै ल्याइनेछ ।’

परियोजनाको दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुईवटा पेट्रोलका ट्यांकीलगायत पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । ‘निगमले दोस्रो चरणको परियोजनाअन्तर्गत निर्माण गरेका उपकरण तथा पूर्वाधारको प्राविधिक जाँचको कामलाई तीव्रता दिइरहेको छ । दोस्रो चरणअन्तर्गत जडान भएका पेट्रोलका ट्यांकी, मोटर, पम्प, पाइपलाइन, स्वचालित पेट्रोल भर्ने स्टेशनलगायत प्राविधिक पक्षको पनि परीक्षण भइरहेको छ,’ कार्यालय प्रमुख आचार्यले रासससँग भनेका छन् ।

निगमका अनुसार पेट्रोल पाइप लाइनबाट ल्याएसँगै ढुवानी खर्चको लागत प्रतिलिटर ३ रुपैयाँका दरले १ अर्ब रुपैयाँ जोगिने छ । ‘हाल निगमले पेट्रोल र मट्टितेल भारतको बरौनीबाट ट्यांकरमा ढुवानी गर्दै आएको छ,’ उनले भने, ‘पाइपनबाट पेट्रोल ल्याउँदा ढुवानी खर्च र वातावरण प्रदूषण दुवै जोगिनेछ ।’ डिजेल भने पाइप लाइनबाटै आयात भइरहेको छ ।

निगमका अनुसार पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, ‘फायरफाइटिङ सिस्टम’को स्तरोन्नति, ‘आयल वाटर स्प्रे’, ‘पिएमससिसी रुम’लगायत पूर्वाधार निर्माण भएको छ । अमलेखगन्जमा निगम र भारतीय पक्षले विभिन्न पूर्वाधार निर्माणको जिम्मेवारी पाएको थियो । निगमले दोस्रो परियोजना कार्यान्वयनका लागि १ अर्ब ५४ करोड भारु खर्चिएर ४ हजार १०० किलोलिटर क्षमताको पेट्रोलको ट्यांक, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति र २४ वटा पूर्णरूपमा स्वचालित पेट्रोल भर्ने स्टेसन निर्माणको काम अघि सारेको थियो ।

इन्डियन आयल कर्पाेरेसन लिमिटेडले पनि ६० करोड भारु खर्चिएर चार हजार एक सय किलोलिटर क्षमताको ट्यांक, दुई सय ५० किलोलिटर क्षमताको दुईवटा ट्रान्समिक्स ट्यांक, ३ हजार किलोलिटर क्षमताको दुईवटा फायरवाटर ट्यांक निर्माणको जिम्मेवारी लिएको थियो । सन् २०१५ मा पाइप लाइन विस्तारका लागि पहिलो र दोस्रो चरणमा गरेर २ अर्ब ७५ करोड भारु लाग्ने अनुमान गरिएको थियो । सो योजनाअनुसार पहिलो चरणमा भारतीय पक्षले दुई अर्ब भारु र दोस्रो चरणमा नेपालको तर्फबाट ७५ करोड भारु खर्च गर्ने योजनो थियो ।

पहिलो चरणको पूर्वाधार निर्माणमा योजनामा भारतको तर्फबाट २ अर्ब भारु खर्च भए पनि दोस्रो चरणको काम तत्कालै सुरु हुन सकेन । दोस्रो चरणको पाइप लाइन विस्तारको लागत बढेर भारु १ अर्ब ५४ करोड पुगेको छ । पहिलो चरणको काम सम्पन्न भई २०७६ भदौ २५ गतेदेखि पाइप लाइनबाट डिजेल आयात भइरहेको निगमले छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय