डडेल्धुरा– सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ । तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रुपमा सक्रिय छन् । यो उमेरमा उनले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।
उनले ४० रोपनी जग्गामा तरकारीखेती गरेका छन् । तरकारीबाटै वार्षिक १० लाख आम्दानी लिने गरेको उनले बताए । भट्टले ३० वर्षदेखि खसीबाख्रा र भैंसीपालन गर्दै आएका छन् । हाल उनको गोठमा ५० वटा खसीबाख्रा छन् । तीन वटा उन्नत जातका भैंसी छन् । घरका भित्ताभरी मौरीका आधुनिक तथा परम्परागत घार छन् । आँगनको कुनामा खरायोका खोर छन् ।
कृषि पेसामै सक्रिय भएकाले आफू निरोगी भएको उनी बताउँछन् । ‘सानैदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकें । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिनँ, उनी भन्छन्, ‘यही काम गर्दागर्दै मर्न परोस अरु मलाई केही चाहिएन ।’
खेती र पशुपालनबाटै आर्थिक रुपमा सम्पन्न उनले गाउँघरका छिमेकीलाई संकट पर्दा सरसापटी पनि दिन्छन् । उनको जाँगर देख्ने जो कोहीले प्रेरणा लिने गरेको स्थानीय दुर्गा भट्टले बताए ।
तारादत्तले व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेदेखि हालसम्म सरकारी अनुदान लिएका छैनन् । तर मौरीका लागि भने केही अनुदान पाए सहज हुने र हौसला मिल्ने आसमा छन् ।
भट्टको अनुभवमा पछिल्लो समयमा हावापानीमा देखिएको परिवर्तनले धेरै असर गरेको छ । बजारमा पाइने नयाँ बीउ, मल, विषादीले पनि असर गरेको उनको अनुभव छ । पहिले–पहिले पाँच किलोसम्मको काउली उत्पादन हुने उनको बारीमा आजभोलि त्यत्रो काउली फल्दैन । पहिलेको परिमाणमा भैंसीले दिने दूध नै घटेको उनले सुनाए । ‘कतै पछिल्लो समयमा आएका यी विकासे घाँसले दूधको उत्पादन घटाएको त होइन ?’ उनी आशंका गर्छन् ।
देशमै व्यावसायिक कृषि गर्न सके केही हदसम्म रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ । पसिना बगाउन सके सोहीअनुसार फल प्राप्त गर्न सकिने उनले बताए ।