
काठमाडौं– यस वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । सबैभन्दा धेरै खपत काठमाडौं उपत्यकामा भएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको १०० रुपैयाँ तिर्नुपरेको थियो ।
काठमाडौं महानगरपालिकाले फूल बिक्रीस्थल तोकेका कारण यस वर्ष सहज भएको उनले बताए । यस वर्ष महानगरले नेपाली किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो ।
फूलको बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेष गरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरे पनि सयपत्री र रातो गुलाफ भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताए।
काठमाडौं उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् । नेपालमा व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएका उनले जानकारी दिए। पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका र २२१ हेक्टरमा १ हजार १८४ व्यवसायीले पुष्पखेती गरेको उनले बताए ।