
काठमाडौं– नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा फिनल्यान्डको सरकारी फन्डिङ कम्पनी फिनफन्डले एक करोड युरो लगानी गरेको छ ।
फिनफन्डको लगानी विद्यमान फाइबर नेटवर्क विस्तार गर्न प्रयोग गरिने वर्ल्डलिंक कम्युनिकेसन्सले जनाएको छ । नेपालमा झन्डै आधा जनसङ्ख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित हुनुका साथै सहरी र ग्रामीण क्षेत्रमा उल्लेखनीय असमानता हटाउँदै विश्वस्तरीय डाटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुर्याउने वर्ल्डलिंकले जनाएको हो ।
बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा फिनल्यान्डको वैदेशिक व्यापार तथा विकासमन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल र फिनफन्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौतापत्रमा हस्ताक्षर गरे।
‘वर्ल्डलिंकले नेपालको ग्रामीण क्षेत्र र दुर्गम गाउँमा आफ्ना सेवा विस्तार गरेर डिजिटल विभाजनलाई कम गर्ने दिशामा काम गरिरहेको छ भने डिजिटल पूर्वाधारमा फिनफन्डको लगानीले समुदायलाई छिटो, गुणस्तरी र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउन खोजेको छ,’ फिनफन्डका किल्पेलेइनले भने, ‘फिनिस लगानीकर्ता भएकाले, हामी पक्कै पनि वर्ल्डलिंकले आफ्नो इन्टरनेट सेवा विस्तार गर्न उन्नत प्रविधि प्रयोग गर्छ भन्ने तथ्यलाई पनि महत्त्व दिन्छौंं ।’
फिनिस प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिंकको सहकार्यले वर्ल्डलिंकका ग्राहकलाई समग्र इन्टरनेट अनुभवलाई भरपर्दो, तीव्रगतिको र थप विश्वसनीय बनाउने लक्ष्य राखेको छ ।
डाटा सेन्टर क्षेत्रमा वर्ल्डलिंकको विस्तारले यसका ग्राहकलाई मात्र नभई अन्य इन्टरनेट सेवा प्रदायक, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थालाई पनि फाइदा पुग्ने विश्वास लिइएको छ ।
‘फिनफन्डको लगानी नेपालको हरेक कुनालाई तीव्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्कमा जोड्ने हाम्रो लक्ष्यमा एउटा महत्वपूर्ण कोसेढुंगा सावित हुनेछ,’ वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले भने, ‘हाम्रो फाइबर नेटवर्क विस्तार, विश्वस्तरीय डाटा सेन्टर स्थापना, सहर र ग्रामीण भेगबीचमा देखिएको डिजिटल विभेद हटाउँदै देशभर डिजिटल रुपान्तरणलाई गति दिने लक्ष्य राखेका छौं।’
उनका अनुसार वर्ल्डलिंकले पाँच हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरेको छ । कम्पनीसँग नेपालमा ३५ प्रतिशत ब्रोडब्यान्ड बजार र नौ लाखभन्दा बढी परिवारमा पहुँच प्रदान गरेको जनाउँदै कम्पनीले ७७ मध्ये ७३ जिल्लामा सेवा प्रदान गर्दै आएको उनले बताए ।
वर्ल्डलिंक ठूलो विदेशी लगानी भित्र्याउन नेपालको इन्टरनेट सेवा प्रदायकमध्येको पहिलो र एक मात्र कम्पनी हो । कम्पनीले यसअघि ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट र डोल्मा इम्प्याक्ट फन्डमार्फत विदेशी लगानी भित्र्याइसकेको छ ।