काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १७ देखि २१ गते सम्म ५ दिन चेम्बर एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो २०२५ को आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले एक्स्पो गर्न लागेको हो । व्यापार अभिवृद्धि, स्थानीय वस्तुको बजारीकरणका लागि चेम्बरले प्रत्येक वर्ष एक्स्पो गर्दै आएको छ ।

नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिए ।

चेम्बर एक्स्पोमा नेपाल, बंगलादेश, भारत, चीन, थाइल्यान्ड, यूएई, दक्षिण कोरिया, मलेसिया र पाकिस्तान लगायत देशहरुमा उत्पादित वस्तुको प्रदर्शनी र व्यवसायीले सहभागिता जनाउनेछन । एक्स्पोमा हस्तकलाका वस्तु, सवारी साधन, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, ज्वेलरी, कस्मेटिक वस्तु, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनीमा रहने छन् ।

स्वदेशी र विदेशी गरी २०० भन्दा बढी स्टलहरु एक्स्पोमा राखिनेछन् । ५ दिन चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताए । अटो पेभिलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय