
काठमाडौं– सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । मंगलबार बिहानसम्मको तथ्यांकअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका निर्देशक मणिराज लामिछानेले दैनिक सरदर ३ हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा धेरैले पर्यटक आगमन बढेको जानकारी दिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।
राष्ट्रसंघीय विश्व पर्यटन संगठन (युएनडब्लुटिओ)को पछिल्लो ६ महिनाको तथ्यांकअनुसार कोभिड–१९ पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमन बढेको बताइएको छ ।