
काठमाडौं– देशभित्र सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये तीनओटाले मात्र पुसको तुलनामा माघ महिनाका लागि व्यक्तिगत मुद्दती खाताको ब्याजदर परिवर्तन गरेका छन् । बाँकी १७ ले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
ब्याजदर परिवर्तन गर्ने ३ वाणिज्य बैंकमध्ये दुईवटाले ब्याजदर घटाएका छन् भने एउटाले बढाएको देखिन्छ । सञ्चालनमा रहेका सबै बैंक, वित्तीय संस्थाले सोमबार माघ महिनाको ब्याजदर सार्वजनिक गरेका छन् । बैंक, वित्तीय संस्थाले आउने महिना लिने र दिने ब्याजदर अघिल्लो महिनाको अन्तिम दिन प्रकाशित गर्नुपर्ने नियम छ ।
पुसको तुलनामा माघ महिनामा ब्याजदर घटाउनेमा बैंक एसबिआई बैंक र कृषि विकास बैंक लिमिटेड रहेका छन् । लक्ष्मी सनराइज बैंकले बढाएको छ । नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ बाट ५.५१ प्रतिशतमा झारेको छ । लक्ष्मी सनराइज बैंकले भने व्यक्तिगत मुद्दती खाताको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको छ ।
दुई बैंकहरुको ब्याजदर घटेपछि बैंकहरुको औसत ब्याजदर पनि सामान्य घटेको छ । पुसको तुलनामा माघमा बैंकहरुको औसत ब्याजदर ०.०१५५ प्रतिशत बिन्दुले घटेको छ ।
बैंकहरुले हरेक महिना ब्याजदर तोक्दा साविकको तुलनामा १० प्रतिशतसम्म मात्र तलमाथि गर्न पाउँछन् ।