काठमाडौं– चालु आर्थिक वर्ष २०८१–८२ को आधा वर्षमा नेपालको वैदेशिक व्यापार ९ खर्ब २१ अर्ब १६ करोड पुगेको छ । यो परिमाणको वैदेशिक व्यापारमा ७ खर्ब २३ अर्ब ५८ करोड १३ लाख घाटा छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत पुस मसान्तसम्ममा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।
गत आर्थिक वर्षको अर्धवार्षिक अवधिको तुलनामा चालु वर्षको सो अवधिमा आयात ७ प्रतिशत र निर्यात ३१ दशमलव ७८ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार घाटा ४.३८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अर्धवार्षिक अवधिको तुलनामा चालु वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापारमा निर्यातको योगदान २.०१ प्रतिशतले घटेर ८९.२८ प्रतिशत कायम भएको छ ।
नेपाल सबैभन्दा धेरै व्यापार घाटा भारतसँग छ । पछिल्लो ६ महिनामा भारतबाट ५ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा ७३ अर्ब ७१ करोड १२ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । यसअनुसार यो अवधिमा भारतसँगको व्यापार घाटा ४ खर्ब २९ अर्ब १४ करोड रुपैयाँ बराबर छ । त्यस्तै, चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा चीनसँगको व्यापार घाटा १ खर्ब ५८ अर्ब ६२ करोड र अर्जेन्टिनासँगको २२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
नेपालको १२३ मुलुकसँग व्यापार घाटा र ३२ मुलुकसँग नाफा छ । नेपालले गर्ने वैदेशिक व्यापारमा बढी नाफा रहेका मुलुकमा डेनमार्क, अस्ट्रिया, रसियन फेडेरेसन, माल्दिभ्सलगायत छन् ।









