
काठमाडौं– एनआइसी एसिया बैंकमा रोशन न्यौपानेको रजगज निकै चल्यो । सञ्चालकहरुको आशीर्वादका कारण नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) हुँदादेखि नै एनआइसी एसियामा न्यौपाने प्रभावशाली थिए ।
स्रोतहरुका अनुसार दायाँबायाँ गर्न रुचाउने स्वभावका कारण न्यौपाने बैंक सञ्चालकमाझ लोकप्रिय थिए । सञ्चालकहरुको आशीर्वादकै कारण उनी बैंकमा सीईओ नियुक्त भए ।
२०७५ मंसिरमा सीईओको रुपमा बैंक व्यवस्थापनको नेतृत्व गर्ने मौका पाएपछि उनी आक्रामक रुपमा व्यवसाय विस्तारमा लागे । यस क्रममा शाखा र जथाभावी कर्जा विस्तारलाई उनले अन्धाधुन्ध रुपमा अगाडि बढाए । कर्जा र शाखा विस्तारको मिडियामा पेड न्युज मार्फत महिमामण्डन गर्ने काममा पनि उनी नेतृत्वको एनआइसी एसिया बैंक निकै अगाडि थियो । त्यही कदम अहिले न्यौपाने र सिंगो बैंकका लागि गलपासो बनेर अगाडि आएको छ ।
बैंकका वित्तीय सूचकहरु खराब भएका छन् । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण अनुसार पोहोर यही अवधिको तुलनामा खुद नाफा ९३.०३ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८०–८१ को पुससम्ममा १ अर्ब ९० करोड रुपैयाँ नाफा गरेको एनआइसी एसियाको नाफा यस वर्ष पुस मसान्तमा १५ करोड १७ लाख रुपैयाँमा खुम्चिएको छ ।
खराब कर्जा पनि निकै बढेको छ । गत वर्ष पुस मसान्तमा १.१९ प्रतिशत रहेकोमा खराब कर्जा यसपालि पुस मसान्तमा बढेर ४.६१ प्रतिशत पुगेको छ । बैंक पटकपटक राष्ट्र बैंकको कारबाहीमा पर्दै आएको छ । राष्ट्र बैंकले तोकिएको प्राथमिक पुँजीकोष कायम नगरेको भन्दै आर्थिक २०७७–७८ र २०७८–७९ मा घोषणा गरिसकेको लाभांश वितरण गर्न रोक लगायो ।
सञ्चालक, तिनका परिवारका सदस्य र सञ्चालकहरु सम्बद्ध संस्थालाई मुद्दती निक्षेपमा पत्रपत्रिकामार्फत सार्वजनिक गरिएको भन्दा बढी दरमा ब्याज दिएको, बढी ब्याज दिन पुरानो मिति राखेर खाता खोलेको जस्ता कसुरमा बैंकका सीईओ र सञ्चालकलाई पटक पटक कारबाही गरिसकेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार बैंक सञ्चालकको दबाबमा बढी दिएको ब्याज पनि फिर्ता गराइएको छ भने आगामी दिनमा त्यस्तो कार्य नगर्न सीईओ न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालकद्वय त्रिलोकचन्द्र अग्रवाल तथा रामचन्द्र संघईलाई नसिहत दिइएको राष्ट्र बैंकको भनाइ छ ।
यसैबीच, केन्द्रीय बैंकले स्थलगत निरीक्षण गर्दा बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पूँजीकोष तथा जोखिमभार, ब्याजदर एवं संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशन पालना नगरेको पाएपछि परिपालना गर्न एवं सुधारको कार्ययोजना बनाएर लागू गर्न समेत निर्देशन दिएको छ । बैंकले गत वर्ष अन्य क्षेत्रको कर्जालाई आवासीय कर्जा शीर्षकमा परिवर्तन गरेको राष्ट्र बैंकको अनुगमनका क्रममा फेला परेको थियो ।
यसरी बैंकको अवस्था खराब हुँदै गएपछि न्यौपानेले सीईओबाट राजीनामा दिएको खबर सार्वजनिक भएको छ । आर्थिक अभियान दैनिकले माघ ९ गतेको अंकमा बैंक तथा राष्ट्र बैंक स्रोतलाई उद्धृत गर्दै न्यौपानेले राजीनामा दिएका तर सञ्चालक समितिले स्वीकृत गर्न बाँकी रहेको समाचार छापेको छ ।
२०७५ मंसिरमा पहिलोपटक सीईओ नियुक्त भएका न्यौपानेलाई २०७९ कात्तिकमा पुनः चार वर्षका लागि सीइओ नियुक्त गरिएको थियो । कार्यकाल २०८३ कात्तिकसम्म रहे पनि बैंकको अवस्था बिग्रन थालेपछि उनले बीचमै बाहिरिन खोजेका छन् । तर न्यौपानेकै आक्रामक व्यवसाय विस्तार नीतिले बैंकमा समस्या देखिन थालेको बेला उनी बाहिरिँदा नकारात्मक सन्देश जाने देखेर सञ्चालक समितिले तत्कालै राजीनामा स्वीकृत गर्न नचाहेको स्रोतहरूको भनाइ छ