वीरगन्ज– पर्सामा रहेको वीरगन्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको ६ महिनामा २९ अर्ब २७ करोड ८२ लाख ४ हजार रुपैयाँ मूल्य बराबरका वस्तु विदेशी मुलुकमा निर्यात भएको छ । आर्थिक वर्ष २०८०–८१ को छ महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा निर्यात शतप्रतिशत बढेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आर्थिक वर्षको ६ महिनामा प्रशोधित भटमास र सूर्यमुखी तेल निकासी बढेकाले समग्रमा निर्यात बढेको बताए। ‘‘गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ,’ उनले भने, ‘अन्य कपडाजन्य सामग्रीको निर्यात पनि बढेकाले निर्यात झन्डै दोब्बर भएको हो ।’

अघिल्लो वर्ष ६ महिनामा यो नाकाबाट १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार रुपैयाा मूल्यका वस्तु विदेश निर्यात भएको थियो । कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा निर्यातबाट १७ करोड ६६ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

गत वर्ष सोही अवधिमा निर्यातबाट प्राप्त राजस्व १० करोड ३ लाख ८१ हजार रुपैयाँ थियो । यो नाकाबाट विशेष गरी भटमासको तेल प्रशोधित, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, सिन्थेटिक कपडालगायत निर्यात भएका छन् ।

वीरगन्ज नाकाबाट गत साउनदेखि पुससमम्ममा २ खर्ब ७७ अर्ब १५ करोड ५७ लाख १६ हजार रुपैयाँ मूल्यका वस्तु आयात भएको थियो । पोहोर यो अवधिमा २ खर्ब ६० अर्ब ३६ करोड ६१ लख ६६ हजार रुपैयाँ मूल्यको वस्तु आयात भएको थियो । गत वर्ष ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ६.४५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय