
काठमाडौं– सन् २०२४ मा ६६ हजारभन्दा बढी नेपाली स्थायी बसोबासको उद्देश्यले बिदेसिएको तथ्यांक सार्वजनिक भएको छ ।
अध्यागमन विभागले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । विभागका अनुसार सन् २०२४ मा ६६ हजार ८३५ नेपाली स्थायी बसोबास गर्ने गरिए विदेश गएका छन् ।
स्थायी बसोबासका लागि बिदेसिनेमा महिलाभन्दा पुरुष धेरै छन् । विभागका अनुसार सन् २०२४ मा ३४ हजार ५४४ पुरुष र ३२ हजार २८७ महिला उतै बस्ने गरी बाहिरिएका छन् ।
सो वर्ष १६ लाख ७४ हजार २२५ नेपालीले अध्यागमन कार्यालयको बाटो हुँदै यात्रा गरेका थिए । सन् २०२४ मा स्थायी बसोबासका लागि बिदेसिने नेपालीको संख्या सन् २०२३ को तुलनामा कम हो । सन् २०२३ मा ७० हजार ९१५ जना नेपाली स्थायी बसोबासका लागि विदेश गएका थिए ।
विभागका अनुसार सन् २०२४ मा ८ लाख ५६ हजार ४२२ जना नेपाली रोजगारीका लागि बिदेसिएका छन् । सन् २०२४ मा १ लाख १९ हजार ४०९ जना नेपाली अध्ययनका लागि विदेश गएका छन् ।