
काठमाडौं– अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीले ६ महिनामा झन्डै ५६ अर्ब ८३ करोड रुपैयाँ विदेश पुर्याएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा यसपालि २ अर्ब रुपैयाँभन्दा धेरैले कमी आए पनि शिक्षाको नाममा बिदेसिने रकम बढ्दो क्रममा रहेको छ ।
अघिल्लो वर्ष ६ महिनामा वैदेशिक अध्ययनका लागि ५८ अर्ब ९५ करोड रुपैयाँ बराबर रकम बिदेसिएको थियो । सो अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई १ खर्ब १ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष ६ महिनाको अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रुपैयाँ बराबर थियो ।
समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत उक्त अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो ।