चितवन– भरतपुर महानगरपालिका–१५, श्रीपुरमा उत्पादित गाजर र चुकन्दर जर्मनी निर्यात हुन थालेको छ । १२ बिघामा लगाइएको १०० टन चुकन्दर र १५० टन गाजर जर्मनी निर्यात हुन थालेको हो ।

जिल्ला प्रांगारिक संघ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका अनुसार २ वर्षदेखि यहाँ उत्पादित गाजर र चुकन्दर ‘द अर्गानिक भ्याली’ संस्थाले विदेश पठाउन थालेको हो । स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तरराष्ट्रियस्तरबाट प्रमाणीकरण गरी कृषि उपज निर्यात गर्न थालिएको उनले बताए । उनका अनुसार यस वर्ष यही फागुन १५ गतेदेखि ती उत्पादन पठाउने तयारी गरिएको छ ।

यहाँको २० बिघा अर्गानिक क्षेत्रका रूपमा मान्यता पाएको बताउँदै उनले थपे, ‘१२ बिघामध्ये ६० प्रतिशत क्षेत्रफलमा गाजर र ४० प्रतिशतमा चुकन्दर लगाइएको छ । यहाँको उत्पादनलाई विदेशी उपभोक्ताले विश्वास गरेपछि निर्यात सुरु गरिएको हो ।’

जर्मनी जाने गाजरको मूल्य प्रतिकिलो २० र चुकन्दरको प्रतिकिलो ५० रुपैयाँ तोकिएको संघका सदस्य छविलाल न्यौपानेले जानकारी दिए । संघमा आबद्ध १५ जना किसानले लगाएको गाजर र चुकन्दर जर्मनी निर्यात हुने गरेको उनले बताए ।

उनले भने, ‘अर्गानिक खेती हुने क्षेत्रमा गाजर र चुकन्दर बाहेक गहुँ, मुसुरो, जौ, घाँस, आलुका साथै अन्य सागसब्जी उत्पादन गरिँदै आइएको छ ।’ यहाँ उत्पादित कृषिउपज जर्मनसँगै चितवन, पोखरा, काठमाडौंलगायत अन्य जिल्लामा बिक्री हुँदै आएको छ ।’

गाजर र चुकन्दर नेपालको ‘अर्गानिक भेन्चर’ नामक संस्थाले खरिद गरी आन्तरिक बजारमा बिक्री गर्दै आएको न्यौपानेले जानकारी दिए । प्रांगारिक संघलाई कृषि विकास कार्यालय चितवनले सुरुआती समयमा आर्थिक सहयोग गरेकामा पछिल्लो समय प्राविधिक सहयोग मात्रै गर्दै आएको उनले बताए। पहिला ‘प्याकेजिङ’, ‘ग्रेडिङ’ र बजारीकरणमा सहयोग गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय