काठमाडौं– काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रमा नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले गरेको सहयोगबाट भएका पुनर्निर्माण र जिविकोपार्जनबारे संयुक्त अनुगमन भएको छ ।

चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र युएनडिपीका तर्फबाट आवासीय प्रतिनिधि कायको युकोसुको नेतृत्वमा गएको टोलीले सहयोग अनुदान कार्यान्वयन प्रगतिबारे संयुक्त अनुगमन गरेको थियो । पनौती नगरपालिका र रोशी गाउँपालिका क्षेत्रमा बाढी तथा पहिरोले पुर्याएको जनधनको क्षति एवं जीविकोपार्जनका लागि गत पुसमा चेम्बर र युएनडिपीबीच सहकार्यको सम्झौता भएको थियो ।

बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि नगद कार्यक्रम तथा जलवायु अनुकूलन सहकार्यको प्रगति सम्बन्धमा संयुक्त अनुगमन गरिएको चेम्बरको विज्ञप्तिमा उल्लेख छ । बाढीपहिरो प्रभावित क्षेत्रमा भएको नगद कार्यक्रमअन्तर्गत सिँचाइ नहर, सामुदायिक सडकहरु, नाली निर्माण, कृषि जमिनमा माटो, ढुंगा, काठ आदिको सरसफाइ गरी स्थानीय भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । यसबाट स्थानीय रोजगारी समेत सिर्जना भएको छ ।

प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य एवं जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलनका साथै जोेखिम न्यूनीकरणमा भएको प्रगतिबारे स्थलगत अनुगमन गरिएको चेम्बरले उल्लेख गरेको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा भइरहेको काम सन्तोषजनक रहेको र आगामी दिनमा पनि निजी क्षेत्रको तर्फबाट सहयोग एवं सहकार्य जारी रहने चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिए ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपककुमार मल्होत्राले चेम्बर र युएनडिपीको सहयोगले बाढीपहिरो प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण र जीविकोपार्जनमा उल्लेख्य उपलब्धि हासिल भएको बताए ।

युएनडिपीका आवासीय प्रतिनिधि कायको युकोशुले चेम्बरसँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
चेम्बर र युएनडिपीले गरेको सहयोगबारे भएको प्रगतिको अनुगमनमा स्थानीय तहका जनप्रतिनिधि पनि सहभागी थिए । काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई कार्यप्रगतिबारे जानकारी गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय