काठमाडौं– बहुचर्चित अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत नेपालमा सञ्चालित आयोजनाहरु पनि रोकिने भएका छन् ।
एमसीसीले गत शुक्रबार एक इमेलमार्फत नेपाल सरकारलाई एमसीसी फन्डमार्फत हुने भुक्तानी रोक्न पत्र पठाएको हो । नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा कम्प्याक्ट अन्तर्गत उच्च क्षमताको विद्युत् प्रसारण लाइन र सडक विस्तार आयोजना कार्यान्वयन गर्ने सम्झौता भएको थियो ।
अमेरिका सरकारले राष्ट्रपतिले जनवरी २० मा ९० दिनसम्म सम्पूर्ण सहयोग कार्यक्रम स्थगन गर्न जारी गरेको कार्यकारी आदेश अनुसार एमसीसीको भुक्तानी रोकिएको जानकारी अर्थ मन्त्रालयलाई पठाएको हो ।
अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसनले मिति २०८१ फागुन २ गतेको इमेल पत्रमार्फत नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसिसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको उल्लेख छ ।
अमेरिकाले युएसएड मार्फत प्राप्त हुने सहयोग रोकिएको जानकारी गराइसकेको छ ।
एमसिसीले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान सहयोग गर्ने योजना थियो । उक्त अनुदान नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतमा खर्च गर्ने उल्लेख छ।
एमसिसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन निर्माणमा खर्च गर्ने योजना थियो। यस अन्तर्गत ठेक्का प्रक्रिया समेत भएका छन्।
एमसिसीको ५ करोड २० लाख डलरले पूर्वपश्चिम राजमार्गको धानखोला, भालुवाङ हुँदै लमहीदेखि शिवखोलासम्मको सडक स्तरोन्नति गरिने योजना थियो।









