
काठमाडौं– नेपाली महिलाहरुको नेतृत्वमा सञ्चालित कोदाली भेन्चर्स प्रालिले स्वास्थ्यवर्धक र प्राकृतिक खाद्य उत्पादनहरू बजारमा ल्याएको जनाएको छ । यसले नेपाली किसानहरूले पारम्परिक रूपमा खेती गर्ने कोदो, फापर, चिनो, कागुनो, मुङ, भटमास जस्ता रैथाने अन्नमा आधारित उत्पादनहरू विकास गरेको जानकारी दिएको छ। यी उत्पादनहरूमा कुनै रासायनिक प्रशोधन वा संरक्षक प्रयोग नगरिएकाले यी मानव स्वास्थ्यका लागि लाभदायक रहेको कम्पनीको दाबी छ ।
कोदाली भेन्चर्सले बजारमा प्रस्तुत गरेका उत्पादनहरुमा टुसा उमारेको फापरबाट बनेको फापर फ्लेक्स, टुसा उमारिएको मुङ, तिल र जडीबुटीबाट निर्मित पिठो, टुसा उमारिएको कोदो, फापर, सूर्यमुखी, कोका र गुडबाट बनेको पेय पदार्थ रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले प्यानकेक (पिठो) पनि ल्याएको छ ।
फापर फ्लेक्सलाई कम्पनीले सुपरफुड भनेको छ । यो टुसा उमारेको फापरबाट बनेकोले यसले सुगर लेभल नियन्त्रण गर्न मद्दत गर्ने बताइएको छ । यो कम प्रसोधित खाद्य पदार्थ भएको र पौष्टिक आहार चाहनेहरूका लागि उपयुक्त हुने कमपनीको भनाइ छ ।
भिगन प्रो टुसा उमारिएको मुङ, तिल र जडीबुटीबाट बनेको २५ प्रतिशत प्रोटिनयुक्त पीठो भएको बताइएको छ । यसलाई बारा, ससप, वा आँटाको पीठोमा मिसाएर सुक्खा रोटी बनाउन सकिन्छ। यो स्वस्थ जीवनशैली चाहने परिवारका लागि प्रोटिनको उत्तम स्रोत हुने बताइएको छ ।
माइ चोइस टुसा उमारिएको कोदो, फापर, सूर्यमुखी, कोका र गुडबाट बनेको स्वस्थ पेय पदार्थ भएको कम्पनीको विीपतमा उल्लेख छ । यसले बच्चाहरूलाई रैथाने खाद्यवस्तु खाने बानी बसाउन मद्दत गर्छ र उनीहरूको पौष्टिक आवश्यकताको पूर्ति गर्ने बताइएको छ ।
प्यानकेक (मिठ्ठो गिले रोटी) अंकुरित अन्नहरू जस्तै जौं, फापर, कागुनो, आलस र गुडबाट बनेको पीठो हो । यो रसायनरहित उत्पादन भएको र ओमेगा३ जस्ता पोषक तत्वले भरपूर रहेको कम्पनीको दाबी छ ।
कोदाली भेन्चर्सले आफ्ना उत्पादनहरूमा कुनै रसायन प्रयोग नगरी, प्राकृतिक विधिबाट उत्पादन गर्ने दाबी गरेको छ । यसले नेपाली उपभोक्ताहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य राखेको छ । साथै, यसले नेपाली उत्पादनहरूमा नै अधिकतम पौष्टिक तत्व हुने गरी उत्पादन गरेकाले यसले नेपाली खाद्य संस्कृतिलाई पनि बढावा दिइरहेको बताइएको छ ।
भविष्यमा आफ्ना उत्पादनलाई विश्व बजारमा समेत पुर्याउने कम्पनीको लक्ष्य छ ।