वीरगञ्ज– चालु आर्थिक वर्षको ७ महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ मूल्यको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ ।

गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा ८४ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आर्थिक वर्षको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए ।

‘पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो,’ उनले भने । गत आवको सात महिनाको अवधिमा भने १ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

कार्यालयका अनुसार चालु वर्षको ७ महिनामा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा सबै खालको पेट्रोलियम पदार्थको आयातबाट ३८ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

चालु वर्षको ७ महिनामा ५१ अर्ब ७९ करोड बराबरको ५ लाख ८१ हजार ७९९ किलोलिटर डिजेल आयातबाट २३ अर्ब १० करोड राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

त्यस्तै २२ अर्ब १४ करोड रुपैयाँ मूल्यको २ लाख ५५ हजार ५४२ किलोलिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । चालु वर्षको ७ महिनामा २० अर्ब ९० करोड मूल्यको १८ करोड २९ लाख ९४ हजार ६२४ किलोग्राम एलपिजी आयात भएको छ । सोबाट ३ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय