काठमाडौं– नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको ११औं वार्षिक साधारणसभा काठमाडौंमा सोमबार सम्पन्न भएको छ । यो साधारणसभामार्फत चेम्बरले लगानी प्रवद्र्धन, पर्यटन क्षेत्रको विस्तार र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्धलाई सशक्त बनाउने प्रतिबद्धता दोहोर्याएको छ ।

सभामा चेम्बरका संरक्षक राजेशकाजी श्रेष्ठ साधारणसभामा प्रमुख अतिथि (विशिष्ट मानार्थ सदस्य)को रूपमा सहभागी थिए । साधारणसभामा संस्थाका अध्यक्ष संजय अग्रवाल, नेपालका लागि इटालीका अवैतनिक वाणिज्य दूत प्रतिमा पाण्डे, नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका वरिष्ठ उपाध्यक्ष अरनिको राजभण्डारी, उपाध्यक्ष रुपक राजवंशी, उपाध्यक्ष मनोजकुमार ज्ञवाली, सदस्यहरु लगायतको उपस्थिति थियो ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले इटालीले नेपाललाई गरेको सहयोगको प्रशंसा गरे । उनले नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना र आजको अवस्थासम्म ल्याउन हालका अध्यक्ष लगायत विभिन्न व्यक्तित्वहरुले गरेको योगदानको चर्चा गर्दै संस्थाको सफलताको लागि शुभकामना व्यक्त गरे ।

संस्थाका अध्यक्ष संजय अग्रवालले सभापतिको रुपमा सम्बोधन गर्दै सन् १९५९ अगस्ट ३१ देखि औपचारिक रूपमा स्थापित नेपाल र इटालीबीचको ऐतिहासिक कूटनीतिक सम्बन्धमाथि प्रकाश पारे । साढे ६ दशकदेखि दुवै मुलुकबीच आर्थिक साझेदारी सुचारु रूपमा अगाडि बढिरहेको उनले बताए । अध्यक्ष अग्रवालले चेम्बरको भूमिका व्यापार प्रवद्र्धन, आर्थिक सम्बन्ध मजबुत पार्ने कार्यमा केन्द्रित रहेको बताए । नेपालको विकासमा इटालीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले सन् १९९० मा नेपालको लोकतान्त्रिक संक्रमणपछि इटालीले ठूलो सहयोग गरेको र २०१५ को विनाशकारी भूकम्पपछि नेपाललाई ठूलो मात्रामा राहत तथा सहयोग प्रदान गरेको स्मरण गरे । नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजले आफ्नो प्रयासमार्फत इटालीबाट नेपालमा लगानी भित्र्याउने, नेपाल भ्रमण गर्ने इटालियन पर्यटकहरूको संख्या बढाउने र दुवै मुलुकबीचको सुदृढ आर्थिक तथा व्यापारिक कायम राख्ने लक्ष्य बोकेको छ ।

सभामा नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका महासचिव मनोज श्रेष्ठ भडेलले स्वागत सम्बोधन गरेका थिए । उनले नेपालको सांस्कृतिक, ऐतिहासिक र भौतिक सम्पदाको पुनर्निर्माणमा इटालीले गरेको निरन्तर सहयोगप्रति कृतज्ञता ज्ञापन गरे । सम्बोधनका क्रममा उनले नेपालको सम्पदा संरक्षणमा इटालीको योगदान महत्वपूर्ण रहेकोमा जोड दिँदै यो साझेदारी दुवै मुलुकबीच स्थायी मित्रताको प्रतीकको रूपमा रहने विश्वास व्यक्त दिए ।

साधारणसभामा नेपाल–इटाली आर्थिक सम्बन्धको सुदृढीकरणमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो । संस्थाका संरक्षक राजेशकाजी श्रेष्ठ र अवैतनिक वाणिज्य दूत प्रतिमा पाण्डेलाई विशिष्ट अतिथिको रूपमा सम्मानपत्र प्रदान गरिएको थियो । साथै, अशंकसमशेर जंगबहादुर राणालाई २०२४ को वर्ष सदस्यको रूपमा सम्मानित गरिएको थियो ।

चेम्बरले नेपाल र इटालीबीच व्यापार प्रवद्र्धन, लगानीका अवसरहरूको सृजना र नेपालको पर्यटन प्रवर्द्धनलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ । ११औं वार्षिक साधारणसभाको सफल आयोजनाले नेपाल र इटालीबीचको आपसी आर्थिक प्रगतिलाई थप बलियो बनाउन महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा चेम्बरको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय