काठमाडौं– नेपाल उद्योग परिसंघ (सीएनआई)ले आगामी चैत ३ गते काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको दोस्रो वुमन लिडरसिप समिट २०२५ आयोजना गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको सीएनआईले जनाएको छ । सम्मेलन आयोजनाको लागि सीएनआई वुमन लिडरसिप फोरमले संयोजन गरेको छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने र यसमा प्रविधि र इनोभेसन, वुमन इन सस्टेनेबल एग्रिकल्चर, इन्भेस्टिङ इन वुमन, बियोन्ड बाउन्ड्रिज विषयमा सत्रगत रुपमा छलफल हुने बताइएको छ ।

मंगलबार परिसंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरुले लिनुपर्ने नीतिगत विषयमा गहन रुपमा छलफल हुने बताए । यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुने र यसले महिलाहरुलाई प्रेरित गर्ने परिसंघको अपेक्षा छ ।

सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायत क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त महिलाहरुसहित करिब ५०० जनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरमकी सभापति छाया शर्माले बताइन् ।

परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनले महिलालाई अगाडि बढाउन सहयोग पुग्ने बताए । टाइटल स्पोन्सर नबिल बैंकका उपमहाप्रबन्धक आदर्श बजगाईंले महिलालाई अगाडि बढाउन बैंकले सहयोग गर्दै आइरहेको र सोहीअनुरुप यस सम्मेलनमा पनि बैंक आवद्ध भएको बताए ।

सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिनेछ । सम्मेलनको टाइटल स्पोन्सरमा नबिल बैंक रहेको छ भने एसियाली विकास बैंक (एडीबी) पावर्ड बाई रहेको छ ।

सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने अन्य संस्थाहरुमा नेपाल पर्यटन बोर्ड, एनसेल, एमएडब्लू वृद्धि मोटर्स, डाबर नेपाल, युनिलिभर, बोटलर्स नेपाल, कृषि विकास बैंक, चौधरी फाउन्डेसन, वर्ल्डलिंक कम्युनिकेसन, भ्यास मिडिया, इभेन्ट म्याक्स, सोल्टी होटेल, इको एड, इन्क्लुसिभ फ्युचर फाउण्डेसन रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय