
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कट्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् । उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाएका हुन्। पहिलो पटक उनले ‘कोमल कार्प’ नामक जातको आलुखेती गरेका छन् । थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफै दंग परेका छन् ।
‘आलुसम्बन्धी तालिम लिँदा धेरै फल्ने आलुको नाम सुनेको थिएँ,’ चौधरीले भने, ‘रोपेपछि कस्तो फल्छ भनेर परीक्षणका रूपमा काठमाडौंबाट बीउ ल्याएर रोपें, भने जस्तै फलेको छ ।’ ५ रुपैयाँ प्रतिदानाका दरले ८ किलो आलु बारीमा रोपेकामा त्यसको उत्पादन १२ क्विन्टल भएको उनले बताए ।
पहिलो पुस्ताको आलुको बीउ भएकाले उत्पादन भएको आलु उनले बीउका रूपमा राखेर पुनः रोप्ने योजना छ । उत्पादित आलुका दाना आधा किलोदेखि २ किलोसम्मका रहेका छन् । यो आलु थोरै क्षेत्रफलमा धेरै फल्ने, ठूलो फल लाग्ने, खानमा स्वादिलो रहेको उनले बताए । मंसिरको दोस्रो साता रोपेको आलु फागुनको पहिलो साता खनेको चौधरीको भनाइ छ ।
चौधरीले जिल्लाका शीतभण्डार नहुँदा बाह्य क्षेत्रमा लगेर भण्डारण गर्ने तयारी गरेका छन् । ‘घरमै राख्दा कुहिएर बिग्रिन्छ,’ उनले भने, ‘शीतभण्डारमा राख्नुपर्ने हुन्छ, जिल्लामा एक मात्रै निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको शीतभण्डारगृह बन्द भएपछि भण्डारण गर्न समस्या भएकाले बाह्य क्षेत्रमा लैजानुपर्ने बाध्यता छ ।’
तीन दशकदेखि चौधरी व्यावसायिक आलु खेतीमा संलग्न छन् । सो अवधिमा ११ प्रजातिका आलु लगाएर हेरेको उल्लेख गर्दै उनले यति बढी फल्ने आलुको पहिलो पटक खेती गरेको बताए ।
अन्य जातका आलुको उत्पादन प्रतिकट्ठा ५ देखि ७ क्विन्टलसम्म हुने गरेको छ । चौधरीले प्रतिवर्ष १२ कट्ठादेखि एक बिघा जग्गामा आलुखेती गर्दै आएका छन् । उनले प्रतिवर्ष २०० देखि ३०० बोरा आलु उत्पादन गर्दै आएका छन् । आलु खेती स्याहार्न चौधरीको पूरै परिवार खटिने गरेको छ । रासायनिक मल थोरै र गोबर मल अधिक राखेर आलुखेती गरे बढी उत्पादन लिन सकिने उनले बताए ।
आलु उत्पादनको कार्यका लामो समयदेखि संलग्न रहँदै आए पनि बजारमा लगेपछि विचौलिया र व्यापारीले निर्धारण गरेको दररेटमा बिक्री गर्नुपर्दा कुनै बेला लागत नै नउठ्ने गरेको उनले बताए। किसानलाई मर्का नपर्ने गरी सरकारले धान, गहुँलगायत जस्तै आलुको पनि दररेट निर्धारण गर्नुपर्ने उनको माग छ । चौधरी उत्कृष्ट आलु उत्पादन गर्ने किसानका रूपमा तीन पटक पुरस्कृत भइसकेका छन् ।
पूर्वनगर प्रमुख दिलबहादुर ऐर किसानले उत्पादन गरेको आलुलगायत तरकारी भण्डारण गर्नका लागि शीतभण्डारको व्यवस्थासँगै बजारमा सहज रूपमा बेच्ने व्यवस्था मिलाउने कार्य स्थानीय तहले गर्नुपर्ने बताउँछन् ।