
काठमाडौं– देशको अर्थतन्त्र चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सुधारोन्मुख देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अघिल्लो आर्थिक वर्षसम्म ऋणात्मक वृद्धि वा सामान्य वृद्धि भइरहेको क्षेत्रमा सुधार भएपछि अर्थतन्त्रमा सुधारको बाटोमा अग्रसर भएको हो ।
कार्यालयले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको कुल गार्हस्थ्य उत्पादनसम्बन्धी प्रतिवेदनअनुसार उक्त त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ ।
उत्पादनमूलक उद्योग, निक्षेप तथा कर्जा, निर्माण, खनिज क्षेत्रहरुले लय समात्दा त्यस्ता सूचकहरु सकारात्मक भएको तथ्यांक कार्यालयले बताएको छ । अर्थतन्त्रका १८ औद्योगिक वर्गीकरणमध्ये सबैको कुल मूल्य अभिवृद्धि वृद्धिदर सकारात्मक छ ।
विगत दुई आर्थिक वर्ष लगातार ऋणात्मक रहेको निर्माण र म्यानुफ्याक्चरिङ क्षेत्रमा चालु वर्षको पहिलो त्रैमासमा केही सुधार आएको थियो । दोस्रो त्रैमासमा थप सुधार भएको छ ।
निर्माण क्षेत्रको वृद्धिदर ९ दशमलव १ प्रतिशत र म्यानुफ्याक्चरिङ क्षेत्रको ७ दशमलव ४ प्रतिशत रहने ठानिएको छ । अधिल्लो आर्थिक वर्षको सोही अवधिमा म्यानुफ्याक्चरिङ क्षेत्रको वृद्धिदर ४ प्रतिशतले ऋणात्मक थियो ।
निर्माण सामग्रीको आयात तथा घरेलु उत्पादन वृद्धिसँगै निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ९ दशमलव १ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ६ दशमलव १ प्रतिशत हुने अनुमान छ ।
कार्यालयका अनुसार यो त्रैमासमा सार्वजनिक प्रशासन तथा रक्षा, स्वास्थ्य, घरजग्गा कारोबारलगायत सेवा क्षेत्रका अन्य क्रियाकलापको वृद्धिदर सामान्य रहने अनुमान छ ।
यातायात तथा भण्डारणसँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै छ भने खानी तथा उत्खनन क्षेत्र दोस्रोमा परेको छ । यी क्षेत्रलाई विद्युत् तथा ग्यास क्षेत्रले पछ्याउने अनुमान छ । अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान गर्ने कृषि क्षेत्रको वृद्धिदर ३ दशमलव २ प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान छ ।