काठमाडौं– हावाको गति बढेसँगै आज काठमाडौंमा वायु प्रदूषणको मात्रा घटेको छ । केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौं उपत्यका आज भने प्रदूषणको मात्रा घटेर सातौं नम्बरमा परेको छ ।
‘एयर क्वालिटी इन्डेक्स’को तथ्यांकअनुसार बिहीबार मध्याह्नमा पनि पहिलो प्रदूषित सहरमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्यूआईसम्म पुगेको थियो । आज भने यो समाचार तयार गर्दासम्म प्रदूषण घटेर १४७ एक्यूआई कायम भएको छ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांकअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको संकेत गर्दछ ।
वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले आज हावाको गति बढेकाले प्रदूषणको मात्रा घटेर विश्वको पहिलो प्रदूषित सहरबाट सातौंमा पुगेको बताए।
‘काठमाडौं कचौरा आकारमा पनि छ । पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ र हावा चल्दा उपत्यकामा थुप्रिएर बसेको प्रदूषण उडाएर लैजान्छ,’ उनले भने, ‘प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक रूपमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ, प्रदूषण गराउनेलाई निर्देशनसहितको सुझाव दिइरहेका छौं । यसैगरी वातावरण विभाग र अन्य सरोकार भएका निकायबीचको समन्वय जरूरी छ ।’
धुँवा र तुँवालो उच्च तहमा पुग्दा बिहीबार काठमाडौंमा हुने विमानहरुको उडान अवतरण पनि प्रभावित भएको थियो ।









