
काठमाडौं– स्वनिगः रिसोर्ट प्रालिले भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्ने गुण्डुमा एउटा महत्त्वाकांक्षी परियोजना सुरु गरेको छ ।
नयाँ वर्षको शुभसाइतमा वैशाख १ गते भूमि पूजा सम्पन्न गर्दै कम्पनीले सहरकै नयाँ गन्तव्य निर्माण परियोजना थालनी गरेको हो ।
उक्त परियोजनामा एउटा अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल, टाइम–सेयर मोडेलका भिल्ला तथा विभिन्न मनोरञ्जन केन्दहरू रहने कम्पनीको भनाइ छ ।
उक्त प्रोपर्टी नयाँ नेपाली ब्रान्ड ‘स्वनिगः’ अन्तर्गत सञ्चालन हुनेछ । स्वनिगः नेवारी शब्द हो जसको अर्थ काठमाडौं (येँ), ललितपुर (यलाः) र भक्तपुर (ख्वपः) समेटिएको काठमाडौं उपत्यका हो । ‘स्वनिगः उक्त परियोजनाको लागि उपयुक्त नाम हो, जसले यी सहरहरूमा सहअस्तित्वमा रहेको प्रदर्शन कला (पर्फर्मिङ आर्ट), परम्परागत हस्तकला, खाद्य संस्कृति र इतिहास जस्ता अमूर्त सांस्कृतिक सम्पदासहित परम्परागत संरचनालाई पुनर्निमाण गर्ने लक्ष्य राखेको छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।
‘प्रस्तावित प्रोपर्टी निर्माणस्थल सुन्दर हिमशृंखला देखिने घना जंगलले घेरिएको पहाडी थुम्कोमा छ, जुन ‘सुतिरहेका बुद्ध शाक्यमुनि’को अगाडिपट्टि रहे जस्तो देखिन्छ । यहाँबाट उपत्यकाका प्राचीन तीन सहर य, यलः र ख्वपःका विहंगम दृश्य देखिन्छ ।’
यो महत्त्वाकांक्षी परियोजना नेपाली संस्कृति, सम्पदा र संगीतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पारखी र प्रकृतिप्रेमीका लागि उत्कृष्ट गन्तव्य हुने अपेक्षा गरिएको परियोजनाका लगानीकर्तामध्येका एक अमृतरत्न शाक्यले बताए । यो गन्तव्यले स्थानीय समुदायको उत्थान गर्दै नेपाली र स्थानीय सम्पदाको प्रवद्र्धन गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।
यो परियोजनालाई नेपाली तथा विदेशी पाहुनाका निम्ति बिलासी पर्यटकीय गन्तव्य र गुणस्तरीय तथा स्वस्थ जीवनशैलीमा जोड दिने परिपूर्ण वेलनेस सेन्टरका रुपमा विकास गर्ने कम्पनीको योजना छ । पाइलट बाबा आश्रमको सान्निध्यमा रहेको स्वनिगःले विश्राम, आध्यात्मिकता, कला, संस्कृति, खेलकुद र लाइफस्टाइल अतिथि सत्कारको अद्वितीय समिश्रण प्रस्तुत गर्ने कम्पनीको दाबी छ ।
यो परियोजना इम्प्लिमेन्टिङ एक्सपर्टस ग्रुप (आईईजी) ले एस एन्ड जेजी होल्डिङस (अस्ट्रेलिया) सँगको संयुक्त उपक्रममा सञ्चालन गरिरहेको छ । आइईजीको प्रतिनिधित्व अमृतरत्न शाक्य र सुबर्णकृष्ण श्रेष्ठले गरिरहेका छन् । उनीहरु ५० वर्षदेखि मन्दिर, सत्तल जस्ता विशाल संरचनाहरूको निर्माण गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा प्रशंसा र पुरस्कार जितेका व्यक्तिहरु हुन् । उनीहरू समिट होटल, एयरपोर्ट होटल र निर्माणाधीन ओएसिस होटलमा लगानी गरेर अतिथि सत्कार परियोजनाहरूमा पनि संलग्न छन् ।
६ देखि ८ अर्ब रुपैयाँ लगानी रहने अनुमान गरिएको यो परियोजनामा टाइम–सेयर मोडलका ६० वटा भिल्ला रिसोर्ट र एउटा अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल रहनेछ ।
अस्ट्रेलियाको एस एन्ड जेजी इन्भेस्टमेन्टस् प्रालि प्रत्यक्ष विदेशी लगानी (एफडीआई) कम्पनी हो । यसमा विश्वव्यापी रूपमा शिक्षा, अतिथि सत्कार तथा रियल स्टेट क्षेत्रमा सक्रिय अगुवा गैरआवासीय नेपाली (एनआरएन) मध्येमा पर्ने शेष घले र जमुना घले गुरुङको स्वामित्व छ । एस एन्ड जेजीले आफ्नो सहायक कम्पनी एमआईटी ग्रुप होल्डिङसमार्फत यसअघि नै काठमाडौंको मुटु कान्तिपथमा एउटा पाँचतारे होटल निर्माण गरिसकेको छ । उक्त बिलासी पाँचतारे होटल यसै वर्षको अन्त्यतिर सञ्चालनमा आउने र अतिथि सत्कार क्षेत्रमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी एफडीआई) रहेको परियोजना बन्ने अपेक्षा गरिएको छ ।
एस एन्ड जेजीले काठमाडौंबाहिर पनि अन्य पर्यटनसम्बद्ध व्यावसायिक अवसरहरुको सक्रियतापूर्वक अन्वेषण गरिरहेको छ । र ऊर्जा क्षेत्रमा पनि हात हाल्ने यसको लक्ष्य छ । अन्तर्राष्ट्रिय व्यावसायिक गतिविधिमा संलग्नताबाहेक शेष घले गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष पनि हुन् । उनी नेपाल र विदेशका धेरै परोपकारी सामाजिक संस्थाहरुमा जोडिएका छन् ।
६ देखि ८ अर्ब रुपैयाँ लगानी रहने अनुमान गरिएको यो परियोजनामा टाइम–सेयर मोडलका ६० वटा भिल्ला रिसोर्ट र एउटा अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल रहनेछ । यो परियोजना सन् २०२७ को नोभेम्बरमा सम्पन्न गर्ने अपेक्षा छ । यो सम्पत्ति माइस (मिटिङ, इन्सेन्टिभ, कन्फेरेन्स, एक्जिबिसन), इभेन्ट, अन्तराष्ट्रिय सेमिनार, डेस्टिनेसन वेडिङ हब (वैवाहिक कार्यक्रमको गन्तव्य), लाइभ संगीत प्रदर्शनस्थल, एम्फिथिएटर (कला, संस्कृति र संगीतको जीवन्त प्रदर्शन), योग, ध्यान, आध्यात्मिक साधना र रक क्लाइम्बिङ, हाइकिङ, साइक्लिङ जस्ता खेलकुद गतिविधिहरूमा विशेष जोड दिँदै खानपान र स्वास्थ्य तथा मनोरञ्जनका लागि उत्कृष्ट गन्तव्यको रूपमा विकास हुने बताइएको छ ।
भूमिपूजा कार्यक्रममा बोल्ने क्रममा घलेले नेवारी संस्कृतिको संरक्षणमा शाक्य र श्रेष्ठको प्रतिबद्धताबाट आफूहरु प्रेरित भई स्वनिगःमा साझेदारी गर्न तयार भएको बताए ।
आफूहरुले हामीले विदेशमा सिकेको जिम्मेवारीपूर्वक विधिको शासन पालना गर्ने अभ्यास नेपालमा ल्याउन चाहेको बताउँदै राजनीतिज्ञहरुले पनि त्यसको अनुशरण गर्नुपर्ने आशय व्यक्त गरे । यो परियोजना सम्पन्न भइसक्दा ७–८ अर्ब रुपैयाँ लगानी हुने अनुमान रहेको पनि उनले बताए ।
यो परियोजनामा अस्ट्रेलियन विदेशी लगानी र नेपाली लगानी आधा आधा रहने तथा आफूहरुले उद्योग मन्त्रालयलबाट प्रत्यक्ष विदेशी लगानी अनुमोदन गराएर आएको पनि उनले जानकारी दिए । नेपाली मूलका नेपालीले गर्ने लगानी सामाजिक दायित्वबाट प्रेरित हुने हुनाले विदेशी लगानी ल्याउँदा नेपाली मूलका विदेशीलाई प्रोत्साहित गर्नुपर्नेमा उनले जोड दिए ।
शाक्यले उक्त परियोजनालाई स्वर्गको टुक्राको रुपमा तयार पारेर विदेशी पाहुना भित्र्याउने लक्ष्य लिएको बताए । पूर्वमन्त्री महेश बस्नेतले उक्त परियोजनाको निर्माण र सफल सञ्चालनमा स्थानीयले सहयोगीको भूमिका खेल्ने बताए ।