काठमाडौं– वाणिज्य बैंकहरूले जेठ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर यथावत राखेका छन् ।
तीन–तीन वटाले भने घटबढ गरेका छन् । वैशाखको तुलानामा जेठमा दिने ब्याज बढाउनेमा एभरेस्ट नेपाल र सानिमा छन् भने नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र सिद्धार्थले घटाएका छन् ।
बढाउनेमध्ये एभरेस्टले वैशाखको वार्षिक ६.६१ बाट बढाएर ६.६४ कायम गरेको छ भने नेपाल बैंकको ब्याजदर वैशाखको ५.१५ बाट ५.४५ प्रतिशत पुगेको छ । वैशाखमा व्यक्तिगत मुद्दती खातामा अधिकतम ५.९५ प्रतिशत ब्याजदर दिएको सानिमा बैंकले अहिले बढाएर ६.३३ प्रतिशत पुर्याएको छ ।
घटाउनेमध्येको नेपाल इन्भेस्टमेन्ट मेगाले वैशाखमा वार्षिक ६.५ प्रतिशत ब्याज दिएकोमा जेठमा ५.५ प्रतिशतमा झारेको छ । त्यसैगरी कुमारीले ५.९२ बाट ५.९१ मा र सिद्धार्थले ६ बाट ५.७५ प्रतिशतमा झारेको छ ।
व्यक्तिगत मुद्दती खातामा वाणिज्य बैंकहरुले दिने औसत ब्याजदर वैशाखको तुलनामा जेठमा घटेको छ । वैशाखमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत रहेकोमा जेठ ५.९५२ प्रतिशत कायम भएको छ ।
राष्ट्र बैंकको निर्देशनअनुसार हरेक बैंक, वित्तीय संस्थाले हरेक महिनाको अन्तिम दिन आगामी महिना निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर प्रकाशित गर्नुपर्छ । उनीहरुले ब्याजदर घटबढ गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतको सीमाभित्र रहनुपर्छ । अर्थात बढाउनु पर्दा पनि अघिल्लो महिनाको तुलनामा १० प्रतिशतसम्म र घटाउनुपर्दा पनि १० प्रतिशतसम्म मात्र तलमाथि गर्न पाउँछन् ।
बैंकहरुले निक्षेप ब्याजदर अनुसार उनीहरुले प्रवाह गर्ने कर्जाको ब्याजदर घटबढ हुने गर्छ ।









