काठमाडौं– नेपालसँग रहेको विदेशी मुद्रा सञ्चिति झन्डै २५१३ अर्ब रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार गत असार मसान्तमा २०४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति २३.१ प्रतिशतले वृद्धि भई २०८२ वैशाख मसान्तमा २५१२ अर्ब ९५ करोड पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा १९.६ प्रतिशतले बढेर २२११ अर्ब ११ करोड रुपैयाँ बराबर पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा ५६.८ प्रतिशतले वद्धि भई ३०१ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ । २०८२ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदाय सँगका अनुपातहरु क्रमशः ४१.१ प्रतिशत, १२१.४ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।









