काठमाडौं– नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको पाइएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) सोमबार आयोजना गरेको कार्यक्रममा प्रमुख अनुसन्धानकर्ता डा खेमबहादुर कार्कीले ‘यौन दुर्बलतासम्बन्धी राष्ट्रिय सर्वेक्षण–२०२४’ को नतिजा सार्वजनिक गर्दै ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको पाइएको जानकारी दिए। विश्वमा महिला ४९ र पुरुष ४३ प्रतिशतमा कुनै न कुनै प्रकारको यौन दुर्बलता रहेको तथ्यांक छ ।
नेपालमा पहिलोपटक गरिएको उक्त सर्वेक्षणका प्रमुख अनुसन्धानकर्ता डा कार्कीका अनुसार यौन दुर्बलता हुने ७२ प्रतिशत पुरुषमध्ये ५ प्रतिशत वयस्क पुरुषमा गम्भीर र ३२ प्रतिशतमा सामान्य प्रकारको दुर्बलता छ ।
उनले यौन दुर्बलता भएकामध्ये करीब ८४ प्रतिशत पुरुषले सम्भोगबाट सन्तुष्टि प्राप्त गर्न नसकेको र ९२ प्रतिशत महिला तथा पुरुषमा यौन चाहना नै नहुने बताए ।
‘यौन दुर्बलता हुने महिलामध्ये ९४ प्रतिशतमा यौन उत्तेजना नै नहुने हुन्छ भने ८६ प्रतिशतमा योनी सुक्खा हुने समस्या छ । करीब ६६ प्रतिशत महिलाहरूले यौन सम्पर्कको समयमा पीडा महसुस गर्छन्,’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।
यौन दुर्बलता भएका ९० प्रतिशतभन्दा बढी व्यक्तिमा यसको मुख्य कारण मनोवैज्ञानिक जस्तै तनाव, चिन्ता, निराशा र कुनै दर्दनाक घटनाबाट उत्पन्न अवस्था रहेको प्रमुख अनुसन्धानकर्ता डा कार्कीले जानकारी दिए ।
सर्वेक्षणका अनुसार महिला र पुरुष दुवैमा रहेको यौन दुर्बलताको स्तर सबैभन्दा धेरै मधेश प्रदेश ७३ प्रतिशत र त्यसपछि कर्णाली प्रदेशमा ७१ प्रतिशत छ ।
प्रमुख अनुसन्धानकर्ता डा कार्कीले मधेश र कर्णाली प्रदेशमा देखिएको यौन दुर्बलताले विकासको दृष्टिकोणले पछाडि परेका ठाउँमा यौन दुर्बलता पनि बढी हुन्छ भन्ने अनुमान गर्न सकिने बताए ।
यौनरोग विशेषज्ञसमेत रहेका उनले यौन दुर्बलताको प्रमुख कारण मानसिक तनाव, व्यस्त जीवनशैली, श्रीमान–श्रीमती छुट्टिएर बस्नुपर्ने अवस्था, एकापसको द्वन्द्व, पारिवारिक कलह, काम र आरामको असन्तुलन रहेको बताए ।
यस्तै, शारीरिक कारणहरूमा यौन अंगमा हुने संक्रमण, श्रीमान वा श्रीमतीमा भएको स्वास्थ्य समस्या प्रमुख रहेका छन् ।
यसैगरी, धेरै मोटोपन भएका व्यक्तिमा मोटोपन नभएको व्यक्तिहरूको दाँजोमा बढी यौन दुर्बलता देखिएको छ ।
यस्तै, यौन दुर्बलता मधुमेह, उच्च रक्तचाप भएका बिरामीमा पनि हुने गरेको उनले बताए । अध्ययनले १८ वा सोभन्दा कम उमेरमा विवाह गर्नेहरूमा यौन दुर्बलताको दर ६८ प्रतिशत र २५ वर्ष पूरा भएर विवाह गर्नेहरूको दर ६१ प्रतिशतभन्दा उच्च रहेको देखाएको छ ।
धेरै मोटोपन भएका व्यक्तिमा मोटोपन नभएको व्यक्तिको दाँजोमा बढी यौन दुर्बलता देखिएको छ ।
फलफूल र सागसब्जीसहितको स्वस्थकर खाना खानेमा ६५ प्रतिशत, फलफूल र सागसब्जी नखानेमा ६८ प्रतिशत यौन दुर्बलताको छ ।
प्रमुख अनुसन्धाता डा कार्कीका अनुसार हरेक दिन कम्तीमा ४०० ग्राम हरियो सागसब्जी तथा फलफूल खाने मानिसमा यौन दुर्बलता दर कम पाइएको छ ।
यस्तै, अध्ययन प्रतिवेदनमा सुर्ती सेवन वा मदिराजन्य पदार्थको सेवनले पनि यौन दुर्बलता बढाएको उल्लेख गरिएको छ । लामो समय सुर्ती सेवन गरेर छाडेकामा ८० प्रतिशतमा यौन दुर्बलता देखिएको छ ।
त्यसैगरी, मदिरा सेवन गर्नेमा ६९ प्रतिशत र नगर्नेमा ५९ प्रतिशत यौन दुर्बलता रहेको पाइएको छ । सोलिड नेपालले नेपालका सातओटै प्रदेशका ३४ जिल्लाका ३ हजार ३८२ जना विवाहित महिला र पुरुषमा गत असारदेखि पुससम्म सर्वेक्षण गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छाले यौन दुर्बलतासम्बन्धी अध्ययन निकै जटिल रहेको भन्दै अध्ययनले नेपालको यौन दुर्बलताको अवस्थाको उजागर गरेको बताए ।
‘अध्ययनमा यौन दुर्बलता मुलुककै समस्याका रुपमा देखिएको पाइयो,’ उनले भने । ‘अब आयोगले पनि यौन दुर्वलता घटाउने खालका कार्यक्रमसम्बन्धी नीति बनाउनेछ ।’
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानका डिन डा मोहनराज शर्माले पहिलोपटक गरिएको यौन दुर्बलतासम्बन्धी अध्ययनबाट नेपालको स्वास्थ्य सेवालाई नै चुनौती थपेको बताए । उनले यौन दुर्बलता घटाउने कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशन डा विवेककुमार लालले यौन दुर्बलताले प्रजनन स्वास्थ्य र मानसिक स्वास्थ्यमा पनि असर गर्ने बताए ।
प्रमुख अनुसन्धाता डा कार्कीले आमा समूह, उपभोक्ता समूह, स्वास्थ्य समूहको नियमित कार्यक्रममा यौन दुर्बलता रोकथाम र नियन्त्रणसहितको जिम्मेवार स्वस्थ यौन व्यवहारका बारेमा छलफल चलाउन जरुरी रहेको बताए ।
यस्तै, सेवाग्राहीको सहज पहुँच सुनिश्चित हुने गरी अस्पतालहरू र स्वास्थ्य सेवा प्रदायक संस्थामा यौन स्वास्थ्यसम्बन्धी बहु–विशेषज्ञ सेवा क्लिनिक तथा मनोविमर्श केन्द्रको स्थापना गर्नुपर्ने उनले सुझाए ।









