काठमाडौं– नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार कसुरमा दोषी ठहरिएका छन् । विशेष अदालतले सोमबार उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष ३ महिना कैद हुने फैसला सुनाएको हो ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(१) बमोजिमको कसुरमा ८ वर्ष र दफा ३०(१) बमोजिम थप ३ महिना कैद सजायको फैसला गरेको हो । पदमा रहेर भ्रष्टाचार गरेका कारण उनलाई ३ महिना कैद थप भएको हो ।
अदालतले बस्नेतको २६ करोड २५ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गर्ने फैसला समेत गरेको छ । उनीमाथि घुस लिएको आरोप थियो ।
बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ गते उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
बस्नेतबाट १ करोड ५ लाख रुपैयाँ र कँडेलबाट ९ लाख २२ हजार रुपैयाँ पीडित राहत संकलन कोषमा भराउने फैसला समेत अदालतले सुनाएको छ । बस्नेतकी श्रीमती उर्मिलालाई भने अदालतले सफाइ दिएको छ ।
बस्नेतले नेपाली कांग्रेसको टिकटबाट नागार्जुनमा मेयर जितेका थिए ।









