काठमाडौं– एनआईसी एसिया बैंक २८ वर्षमा प्रवेश गरेको छ । २८ वर्ष मनाइरहँदा बैंकको वित्तीय स्वास्थ्य भने सन्तोषजनक छैन ।
पछिल्ला वर्षहरुमा लगानीकर्तालाई प्रतिफल वितरण गर्न नसकेको एनआईसी बैंकको खराब कर्जा अरु प्रतिस्पर्धी वाणिज्य बैंकको तुलनामा बढी छ भने नाफा नाममात्रैको छ । आर्थिक वर्ष २०८१–८२ को १० महिनाको वित्तीय विवरणअनुसार यसले जम्मा ४७ करोड ८७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.८७ प्रतिशतले कम हो ।
भरखरै सकिएको सो आर्थिक वर्षको ९ महिनासम्ममा बैंकको नाफा ९१.८१ प्रतिशतले घट्दै १५ करोड ६७ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँले ऋणात्मक छ।
गत चैत मसान्तसम्ममा एनआईसी एसियाको निष्क्रिय कर्जा अनुपात ४.९२ प्रतिशत पुगेको छ । स्रोतहरुले भने यो बैंकको वास्तविक खराब कर्जा २० प्रतिशतभन्दा माथि पुगेको दाबी गरेका छन् ।
बैंकले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमाससम्म लोन लस प्रोभिजन लगभग १ अर्ब रुपैयाँले वृद्धि भई ३ अर्ब ५ करोड २ लाख ६८ हजार १७१ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ अर्ब १४ करोड ८५ लाख ३० हजार ८४२ रुपैयाँ थियो ।
एनआईसीले कतिपय विषयमा केन्द्रीय बैंकलाई समेत झुक्याएको आरोपमा यसका उच्च अधिकारीहरु कारबाहीमा परेका थिए । एनआईसी एसियाले ३६० शाखा, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर र ४२ वटा शाखा रहित शाखा सञ्जालबाट सेवा दिइरहेको छ ।









