वीरगन्ज- गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्बल्ड मोटरसाइकलदेखि क्रेन, लहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् । सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व संकलन हुँदै आइरहेको छ । गत आर्थिक वर्षभरिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र १७ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्षमा ६ अर्ब ६० करोड मूल्यका ५० हजार २९१ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन् । ती सवारी आयातबाट यस नाकाले ६ अर्ब ३१ करोड राजस्व संकलन गरेको छ । गत वर्ष २ अर्ब ९४ करोड मूल्यका १ हजार ४५४ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् ।

त्यसैगरी, सोही अवधिमा २ अर्ब १ करोड मूल्यका ९१२ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् । गत आर्थिक वर्षमा १ अर्ब ३७ करोड मूल्यका ५ हजार ७३५ वटा ट्रयाक्टर तथा ट्रिलर आयात भएका छन् ।

सोही अवधिमा १ अर्ब ११ करोड मूल्य पर्ने ४१७ वटा इन्धनबाट चल्ने बस यहाँ भित्रिएका छन् । सोही अवधिमा ७१ करोडका १३९ वटा क्रंक्रिट मिश्रण लहरी आयात भएका छन् भने ७४ करोडको ३१२ वटा ट्रक, मिनी ट्रक आयात भएका छन् ।

त्यसैगरी, सोही अवधिमा ४३ करोड ३१ लाख मूल्यका ४ हजार ६४६ वटा मोटरसाइकल आयात भएका छन् । वीरगन्ज नाका हुँदै गत आर्थिक वर्षमा १ अर्ब ६४ करोड मूल्यका साना–ठूला २ हजार ३३७ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए । वीरगन्ज भन्सारले गत वर्ष विद्युतीय सवारीसाधन आयातबाट १ अर्ब ८० करोड ४५ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय