काठमाडौं– गत असार २३ गते रसुवा जिल्लामा आएको बाढी पहिरोबाट भएको क्षतिबापतको प्रारम्भिक बीमा दाबी ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार यही साउन २२ गतेसम्म कुल बीमा दाबी संख्या ७८ पुगेको छ । त्यसमा सम्पत्ति बीमा ६, सामुद्रिक बीमा ९, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ५, मोटर बीमा (निजी) १६ र मोटर बीमा (सार्वजनिक) को ४२ वटा दाबी परेको छ ।
प्राधिकरणका अनुसार हिमालयन एभरेस्टमा ५५ करोड, शिखर इन्स्यारेन्स कम्पनीमा १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्यारेन्स कम्पनी ८ करोड ७३ लाख तथा सानिमा जिआइसीमा ६ करोड ८४ लाख ८२ हजार रुपैयाँ बराबरको बीमा दाबी भएको छ ।
प्राधिकरणका अनुसार नेको इन्स्योरेन्स ५ करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा ९१ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्स कम्पनीमा ४७ लाख, सिद्धार्थ प्रिमियर ३१ लाख र प्रभु इन्स्योरेन्स २८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल–चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारीसाधन बगाएको थियो । यस्तै, रसुवागढी हाइड्रोपावरलगायत संरचनामा समेत बाढीले क्षति पुगेको थियो ।









